मर्चवार । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मार्च १६ देखि २२ सम्म मनाइँदै आएको ग्लोबल मनी वीकको अवसरमा मझगावाँ शाखाअन्तर्गतका सदस्यहरूलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरिएको हो ।
शाखा प्रमुख बाबुराम पालका अनुसार कार्यक्रममा आम्दानी वृद्धि गर्ने उपाय, बचत गर्ने बानीको विकास तथा अनावश्यक खर्च न्यूनीकरण गर्ने विधिबारे सदस्यहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो । कोटहीमाई गाउँपालिकाको बहुउद्देश्यीय सभाहलमा सम्पन्न कार्यक्रममा सहभागीहरूलाई नेपालको मौद्रिक नीति, बैंक तथा वित्तीय संस्थाहरूको भूमिका र कार्यप्रणालीबारे समेत जानकारी गराइएको उहाँले बताउनुभयो ।
मझगावाँ शाखाअन्तर्गत ८८ समूहमा आबद्ध १,५०५ सदस्यहरू संस्थासँग जोडिएका छन् । तीमध्ये ४३८ जनालाई कुल ४ करोड १५ लाख रुपैयाँ ऋण उपलब्ध गराइएको छ भने सदस्यहरूले ३ करोड ३५ लाख रुपैयाँ बचत गरेका छन् ।
संस्थामा मुख्यतः सामान्य तथा न्यून आयस्रोत भएका सदस्यहरू आबद्ध रहेको उल्लेख गर्दै शाखा प्रमुख पालले बचत गर्ने बानीको विकास र वित्तीय साक्षरताको अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रम अधिकृत जयकृष्ण यादवले प्रशिक्षणका क्रममा समाजमा हुने अनावश्यक तथा फजुल खर्चहरू घटाउने उपायबारे सहभागीहरूलाई जानकारी गराउनुभयो । साथै ग्रामीण क्षेत्रमा साहु–महाजनहरूले असुल्ने चर्को ब्याजबाट बच्न आधिकारिक वित्तीय संस्थामार्फत कारोबार गर्नुपर्ने आवश्यकता औंल्याउँदै वित्तीय संस्थाका नियम, कानुन र प्रयोग विधिबारे पनि जानकारी दिनुभयो । उनले सामान्य परिवारहरूले आयस्रोत कसरी सिर्जना गर्ने, आम्दानीलाई कसरी व्यवस्थापन गर्ने र कहाँ तथा कसरी बचत गर्ने भन्ने विषयमा समेत प्रशिक्षण दिनुभयो ।
उक्त कार्यक्रममा कोटहीमाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष, इलाका प्रहरी कार्यालय मझगावाँका प्रतिनिधि तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।