कोटहीमाई–१ मा वडाध्यक्ष कप क्रिकेटको शुभारम्भ

मर्चवार न्यूज 367+ समाचार ( )
२ पौष २०८२, बुधवार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. १ मा प्रथम वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । वडा कार्यालयको आयोजनामा बुधबार एक कार्यक्रमका बीच कोटहीमाई–१ स्थित दुईमोहानमा क्रिकेटले युवाको शारीरिक तन्दुरुस्ती, अनुशासन र सामाजिक एकता मजबुत बनाउने उद्देश्यसहित उक्त प्रतियोगिताको औपचारिक शुभारम्भ गरिएको हो ।

वडा नं. १ भित्रका विभिन्न स्थानबाट सहभागिता जनाएका १४ टोलीबीच १२ ओभरको प्रतिस्पर्धात्मक क्रिकेट खेलाइने वडाध्यक्ष राजेश गुप्ताले जानकारी दिनुभयो । युवाहरूको चाहना र मनोभावनालाई आत्मसात गर्दै क्रिकेटले स्वास्थ्य, सहकार्य र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वासका साथ वडाध्यक्ष कप आयोजना गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई प्रमाणपत्र र कपसहित ३५ हजार रुपैयाँ तथा उपविजेतालाई प्रमाणपत्र र कपसहित २२ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । साथै प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिने वडाध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।


क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले मानव जीवनमा खेलकुद र पोषण जन्मदेखि जीवनकालसम्म अत्यावश्यक हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हातखुट्टा चले मात्र मानिस स्वस्थ मानिन्छ । जुनसुकै युग र व्यवस्था आए पनि खेलकुद मानव जीवनको अपरिहार्य अंग हो । खेल फरक हुन सक्छन्, तर जीवनमा खेलकुदको योगदान सधैं आवश्यक रहन्छ ।”

पहिले चिक्का, कबड्डी, बैजल्ला, डुडुवा जस्ता खेल लोकप्रिय रहे पनि अहिले क्रिकेट सबैभन्दा लोकप्रिय बनेको उल्लेख गर्दै अध्यक्ष त्रिपाठीले युवाको चासो र मागअनुसार क्रिकेट विश्वव्यापी रूपमा फैलिएको बताउनुभयो । खेलले मनोरञ्जनसँगै शारीरिक व्यायाम गराई युवामा एकता, स्वास्थ्य र स्फूर्तता बढाउने उहाँको भनाइ थियो ।

‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने नारासहित सुरु भएको प्रतियोगितामा बोल्दै कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रले क्रिकेटमार्फत मर्चवार क्षेत्रले उच्च प्रदर्शन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । युवाभित्र लुकेर रहेको खेलकुद प्रतिभालाई उजागर गरी मर्चवारको पहिचान स्थापित गर्न र देशको नाम चम्काउने उद्देश्यले वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । मर्चवारका हरेक वडा र पालिकामा यस्ता क्रिकेट प्रतियोगिता हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रकोप व्यवस्थापन सञ्जालका राष्ट्रिय अध्यक्ष जगरनाथ प्रसाद कुर्मी, कोटहीमाई गाउँपालिकाका कम्प्युटर अपरेटर सनोज चौधरीलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख अजय सिंह क्षेत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार