मर्चवार । कोटहीमाई गाउँपालिकाले कृषि विकासका लागि विद्युतीकरणको महत्वाकांक्षी योजना सुरु गरेको छ । यस योजना अन्तर्गत, गाउँपालिका भित्रका किसानहरुलाई कृषि प्रयोजनका लागि निःशुल्क विद्युत आपूर्ति गर्ने कार्यको शुभारम्भ गरिएको हो ।
कोटहीमाई गाउँपालिकाका अध्यक्ष, बालकृष्ण त्रिपाठीका अनुसार, पहिलो चरणमा वडा नं. १, २ र केही क्षेत्रको वडा नं. ३ मा तारपोल व्यवस्थापनको काम सुरु गरिएको छ। यस योजनाले कृषकहरूलाई सिँचाईका लागि निःशुल्क विद्युत उपलब्ध गराउने उद्देश्य राखेको छ, जसबाट उत्पादन लागत घट्ने र कृषकहरूको उत्पादन क्षमता वृद्धि हुने अपेक्षा गरिएको छ ।
अध्यक्ष त्रिपाठीले भने, “सिँचाईमा खपत हुने विद्युत गाउँपालिकाबाट निःशुल्क उपलब्ध गराउँदा कृषकहरूको मनोबल उच्च हुनेछ र खेतीपातीमा धेरै सुधार हुनेछ।“ मर्चवार क्षेत्र कृषि प्रधान क्षेत्र भए पनि यहाँ सिँचाइको अभावले उत्पादनमा समस्या थियो ।
यो योजना अन्तरगत, विद्युतीय मोटरबाट सिँचाई गर्दा वातावरणमा कुनै असर नपर्ने र उत्पादन लागत पनि कम हुने बताइएको छ । यस आर्थिक वर्षमा गाउँपालिकाका वडा नं. ३, ४ र ५ मा विद्युतीकरण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
वडा नं. १ का वडाध्यक्ष, राजेश गुप्ताले भने, “यो योजना किसानमुखी हो । मुख्य मिटर जडान गरेर कृषि क्षेत्रका लागि निःशुल्क विद्युत सेवा उपलब्ध गराइन्छ।“ उनले यस कार्यको लागि १ करोड ५० लाख रुपैयाँको बजेट बिनियोजन भएको जानकारी दिए ।
सञ्चालन भएको पहिलो चरणको विद्युतीकरणको ठेक्का सैलुङ सूर्य निर्माण सेवा एण्ड सप्लायर्स प्रा.लि. ले लिएको छ । कम्पनीका संचालक गौतम लामाले भने, “एक महिना भित्र तारपोल विस्तारको काम पूरा गर्ने योजना छ ।“
यस परियोजनाले कृषकहरूको जीवनस्तर उकास्न र स्थानीय कृषि उत्पादनमा वृद्धि ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
Very good