बाँसको पुलमा पीडादायी यात्रा ः जोखिमबीच नदी पार गर्न बाध्य स्थानीय

मर्चवार न्यूज 367+ समाचार ( )
३ चैत्र २०८२, मङ्गलबार

मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रमा पर्ने सम्मरीमाई गाउँपालिका–३ को भभइ–भटौलिया आसपास बिहान सबेरैदेखि मानिसहरूको आउजाउ सुरु हुन्छ । तर यहाँको यात्रा सामान्य छैन—प्रत्येक पाइला जोखिम र पीडाले भरिएको हुन्छ । दानव नदीमाथि पक्की पुल नहुँदा स्थानीय बासिन्दा अझै पनि बाँसले बनाइएको अस्थायी फड्केको सहारामा नदी पार गर्न बाध्य छन् ।

नदी किनारमा उभिँदा यहाँ केवल पानी बगिरहेको दृश्य मात्र देखिँदैन, स्थानीयको दैनिक संघर्ष पनि प्रस्ट देखिन्छ । खेत जान, बजार पुग्न, विद्यालय जान वा आफन्त भेट्न—सबैका लागि यही नदी पार गर्नुपर्छ । र त्यसका लागि भर पर्नु परेको छ बाँसले बाँधिएको कमजोर र जोखिमपूर्ण पुलमाथि ।

भभइका स्थानीय कोइल लोध हरेक दिन यही पुल पार गर्छन् । नदीको यस वारि भटौलिया र पारी भभइ पर्ने भएकाले दुवैतर्फका गाउँलेहरूको दैनिक जीवन यही बाटोसँग गाँसिएको छ ।

“अहिले त बाँसको पुल बनेको छ, त्यसैले अलि सजिलो भएको छ,” उनले भने, “तर यो पुल कति बेला भाँचिन्छ वा बग्छ भन्ने डर सधैं हुन्छ । मोटरसाइकल गुडाउँदा त झन् मन थामेर जानुपर्छ ।”

यो पुल कुनै सरकारी योजनाअन्तर्गत बनेको होइन । स्थानीयको आवश्यकता र एउटा मल्लाह परिवारको मेहनतले मात्र यो सम्भव भएको हो । दुबे थुम्हवाका एक मल्लाहले हरेक वर्ष बाँस काटेर अस्थायी पुल निर्माण गर्दै आएका छन् । पुल बनाउने काम पनि सहज छैन—करिब एक महिना अघि बाँस संकलन गर्नुपर्छ र त्यसलाई बाँधेर पुल बनाउन झन्डै १५ दिन लाग्छ । छठ पर्वभन्दा करिब १५ दिनअघि पुल तयार गरिसक्नुपर्ने हुन्छ ।

पुल बनेपछि नदी किनारमै दिनभरि बस्ने गर्छिन् बासमती मल्लाह । मानिसहरूलाई पुल पार गराउने यही घाट नै उनको परिवारको जीविकोपार्जनको आधार हो ।“कहिले १०० रुपैयाँ आउँछ, कहिले २०० रुपैयाँ,” बासमती मल्लाह भन्छिन्, “मानिसहरूले गच्छेअनुसार ५, १० वा २० रुपैयाँ दिन्छन् । यहीबाट नून–तेल र घरखर्च चल्छ ।”

उनका अनुसार सबैले नगद दिन सक्दैनन् । त्यसैले स्थानीयले वर्षमा धान, चामल वा गहुँ पनि दिने गर्छन् । एक घरबाट चारदेखि १० पाथीसम्म अन्न पाइन्छ । यही ‘जिउका’ ले पनि उनको परिवारको जीवन धानिरहेको छ ।

तर बाँसको पुलले दिएको सहारा सधैं टिकाउ हुँदैन । वर्षायाम सुरु भएपछि नदी उर्लिन्छ, पुल बगाउँछ र गाउँ फेरि टापुजस्तै अलग हुन्छ । त्यसबेला नदी पार गर्नु झन् पीडादायी र जोखिमपूर्ण बन्छ ।

भभइका अर्का स्थानीय धर्मेन्द्र लोध वर्षायाम सम्झिँदा चिन्तित देखिन्छन् ।

“अहिले त अलिअलि सजिलो छ,” उनले भने, “तर वर्षा लागेपछि हामी पानीमै हिँडेर जानुपर्छ । कतिपय बेला त अजमा, दुईमुहान वा सीमावर्ती बाटो हुँदै धेरै घुमेर जानुपर्छ ।”

नदीले बाटो मात्र रोकेको छैन, यहाँका किसानहरूको खेतीपाती पनि कठिन बनाएको छ । स्थानीय कुमार लोधका अनुसार नदीको दुवैतर्फ बसोबास गर्ने किसानहरूको खेत नदी वारीपारि छ ।

“यस पारिका मानिसको खेत उता छ भने उताका मानिसको खेत यता,” उनले भने, “बाढी आउँदा त कोही पनि आउन–जान सक्दैनन् । खेती गर्नसमेत गाह्रो हुन्छ ।”

भभइ–भटौलिया मात्र होइन, वरपरका १०–१२ गाउँका करिब एक हजार घरधुरीका मानिस यही बाटो प्रयोग गर्छन् । यो मार्ग अमहवादेखि बन्जरी चोकसम्म जोडिने महत्वपूर्ण सडक हो । मर्चवारबाट कक्रहवा, लुम्बिनी हुँदै नेपाल–भारत सीमासम्म पुग्नका लागि पनि यही बाटो छोटो र सहज मानिन्छ ।

तर पुल नहुँदा यही सहज बाटो अहिले जोखिमपूर्ण र पीडादायी यात्रामा परिणत भएको छ ।

वर्षौँदेखि स्थानीयले सरकारसँग पक्की पुल निर्माणको माग गर्दै आएका छन् । बाँसको पुलले अहिलेसम्म यात्रालाई सम्भव बनाएको भए पनि यो स्थायी समाधान होइन भन्ने कुरा सबैलाई थाहा छ ।

नदी किनारमा मोटरसाइकल धकेल्दै काँपिरहेको बाँसको पुल पार गर्ने मानिसहरूलाई हेर्दा मर्चवारको एउटा कठोर यथार्थ प्रस्ट देखिन्छ—जहाँ विकासको प्रतीक्षा अझै पनि नदीपारि उभिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार