मर्चवार न्युज
भैरहवा, ३ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जिल्ला कार्यसमिति, रुपन्देहीले राष्ट्रिय गौरवको योजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालन गराउन भइरहेको आन्दोलनप्रति ऐक्वयद्धता जनाएको छ ।
सरकारको ध्यानाकर्षण गराउँदै गत मंसिर २२ देखि शान्तिपूर्ण आन्दोलन गर्दै आएको सिद्धार्थ सञ्जाल, रुपन्देहीलगायत विभिन्न संघ–संस्थाको आन्दोलनप्रति पार्टीको पूर्ण ऐक्वयद्धता रहेको लोसपाले जनाएको छ ।
पार्टीका जिल्ला अध्यक्ष रवि कुमार रौनियारले मंगलबार विज्ञप्ती जारी गर्दै विभिन्न व्यवसाय तथा पर्यटन उद्योगलाई चलायमान गराउन विमानस्थल सञ्चालनका लागि आवश्यक निर्णय गर्न सरकारसँग माग राखेका छन् ।
उनले विमानस्थल सञ्चालन गराउन भिसा सेन्टरको स्थापना, श्रम कार्यालय स्थापना गरी श्रम स्वीकृत सहज गराउनुपर्ने, स्वास्थ्य परीक्षण केन्द्रको स्थापना र आवश्यक रहेको थप हवाइ रुटबारे भारत सरकारसँग कुटनीतिक पहल गर्नुपर्ने विज्ञप्तीमार्फत माग गरेका छन् ।
‘अब नेपाली जनताको कर तथा एडीबी अनुदान ऋणको अरबौं लगानी भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सुचारु नभएको कारण यस क्षेत्रमा लगानी गरेका व्यवसायीहरुको समेत अरबौं रुपैयाँ जोखिममा परेको छ, ’विज्ञप्तीमा उल्लेख छ ।