मर्चवार । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ३ इस्लामपुरमा आगलागी भएको छ । बुधबार दिउँसो भएको आगलागीले ५ कठ्ठा गहुबाली जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।
आगलागीको कारण प्रथम अनुसन्धानमा खुल्न नसकेको इलाका प्रहरी कार्यालय मर्चवारका कार्यालय प्रमुख प्रहरी निरीक्षक घनदेव साउदले जानकारी दिएका छन् । मर्चवारी गाउँपालिका वडा नंं ३ बस्ने सन्तराम मौर्य, मन्तराम यादव, बलिराम यादव, जय प्रकाश बरई, नन्द पासी र रबि पासीको खेतमा आगोले गहुँबाली क्षती भएको प्रहरी निरीक्षक साउदले जानकारी दिएका छन् ।
आगो लागेपछि समयमा दमकल नआउँदा स्थानीहरुले स्थानीय श्रोतसाधनको प्रयोग गरी आगो नियन्त्रण गरेको स्थानीय युवा गोपाल मौर्यले बताए । उनले भने ‘आगो लागेको हल्ला सुनेपछि गाउँबाट मानिसहरु खेतमा दोडी हरियो हाँगा सहितको स्थानीय श्रोत साधनको प्रयोग गरी आगो नियन्त्रण गरेका हुन् ।’
मर्चवारमा बरुण यन्त्र (दमकल) छैन आगलागी पछि भैरहवा, लुम्बिनी, बुटवल क्षेत्रका दमकल कै आसमा बस्नु पर्ने हुन्छ । यस वर्ष लुम्बनी प्रदेश सरकारले बरुण यन्त्रको लागि बजेट बिनियोन गरेपछि हाल सम्म बरुण यन्त्र खरीद हुन सकेको छैन । अहिले मर्चवारमा बरुण यन्त्रलाई लिएर स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिहरको चर्को आलोचना भइरहेको छ ।