मर्चवार । श्री जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा भएको चोरी १५ दिन बितिसक्दा पनि केही पनि पत्ता लाग्न सकेको छैन । साउन ३१ गते राती भएको चोरीमा न त रकम भेटियो न त अपराधी नै ।
सहकारीको घटना प्रति समाजमा विभिन्न किसिमको आलोचना भइरहेको छ । कतै प्रहरी माथि त कतै सहकारी कै कर्मचारीहरु माथि सवाल भइरहेको छ । यति दिन वितिसक्ता घटनाबारे कुनै कुराको पुष्टि नभएपछि सहकारीको कर्मचारी र पदाधिकारीकै संलग्नता देखिएको मर्चवारी ४ का सुग्रिम यादवले बताए । उनले भने ‘त्यती ठुलो रकम त्यहाँ ब्यवस्थापन गर्नु र कति रकम कहाँ छ भन्ने जानकारी कर्मचारी र पदाधिकारी बाहेक कसैलाई हुदैन त्यसले उहाँहरु माथि कडा अनुसन्धान गरि शेयर सदस्यहरुको रकम स्वावलम्बनमा फिर्ता ल्यायी अपराधीलाई कडा करावाही हुनुपर्दछ ।’
सहकारीको ताला तोडेर प्रवेश गरेको २ जनो अपरचित व्यक्तिहरुले लुटेको २३ लाख ११ हजार ४४ रुपैया अझै फेला नपरेको श्री जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक दिनेश कुमार मौर्यले बताए । उनले भने ‘चोरीको घटनाबारे सबै अनुसन्धान पूर्ण रुपले प्रहरीको हातमा छ । प्रहरीको अनुसन्धानमा हाम्रो सहयोग छ । तर अहिले सम्म केही फेला परेको छैन ।’
स्वावलम्बनको भवनमा लगाइएको सिसिटिभी क्यामरामा कैद भएको भिडियो अनुसार रकम चोरी गर्न आएको २ जनाको समुहले ३१ गते राती करीब ११ः४५ बजे स्वावलम्बनको रिटार्निङ्ग वालबाट आएको देखिएको व्यवस्थापक मौर्यले बताए । व्यवस्थापक मौर्यले भने ‘दुबै जना भवनको मुल गेटको ताला तोडेर पहिलो तल्लामा प्रवेश गरेका थिए । पहिलो तल्लाको ताला तोडेर एक जना आर्थिक कारोबार गर्ने विभाग गए र अर्को लकर भएको अध्यक्षको कार्यकक्षमा प्रवेश गरेका थिए । यस्तो देख्दा उनीहरुलाई लकर र आर्थिक कारोबार गर्ने ठाँउ राम्रोसंग जानकारी भएको देखिन्छ ।’ लकरबाट ६ लाख रुपैया र दैनिक आर्थिक कारोबार गर्ने काउण्टरबाट १७ लाख ११ हजार ४४ रुपैया चोरी भएको ब्यवस्थापक मौर्यले जानकारी दिए ।
व्यवस्थापक मौर्यले दिएको जानकारी अनुसार करीब १ हजार २ सय शेयर सदस्य रहेको उक्त सहकारीको १६ करोड कुल पुँजी रहेको छ । ११ करोड १२ लाख ऋण लगानी भएको उक्त स्ववलम्बनमा हाल ब्यवस्थापक सहित ४ जना कर्मचारी कार्यरत रहेका छन् ।
ईलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक हिमनाथ घिमिरेका अनुसार ‘उक्त घटना अहिले अनुसन्धन क्रममा छ । चोरीमा प्रत्यक्ष संलग्न २ जनाको कुनै पहिचान खुल्न सकेको छैन । ’ सहकारीमा लागेको क्यामरामा कैद गरिएको भिडियो हेर्दा यस चोरीको घटनामा प्रत्यक्ष संलग्न भएको ती दुई व्यक्तिहरुको हाउभाउ अनुसार सहकारीबारे जानकार भएको देखिएको बताउदै कर्मचारी सहित त्यहाँ नियमित आउनेजानेहरुसंग कडा रुपले सोधपुछ भईरहेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।
चोरीको घटना पछि आवश्यक अनुसन्धानका विभिन्न पाटोहरु नियमबद्ध अनुसन्धान भइरहेको उनले बताए । जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय मझगावाँको सहकार्यमा घटनाको छानबिन भएको उनले बताए ।
दैनिक आर्थिक कारोबार काउन्टर मा एक दिनमा १७ लाख ११ हजार कहाँबाट पैसा आयो त्यो दिन कारोबार गर्ने व्यक्तिसँग पनि अनुसन्धान गर्नुपर्यो। जुन स्वालम्बन ऋण माग्दाखेरि भन्छ सबै पैसा मजगावा बैंक खातामा छ म तपाईलाई चेक दिन्छु त्यो दिन पैसा बैंकमा किन जम्मा भएन। यसले प्रष्ट पार्छ कि यसमा कर्मचारीको संलग्नता छ।