मर्चवार । श्री मर्चवारीदेवी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको नयाँ प्रशासनिक भवनको शिलान्यास गरिएको छ । कोटहीमाई–७ श्रीराम टोलबाट सेवा प्रदान गर्दै आएको उक्त सहकारीले सोही वडाको परसहवाँमा नयाँ भवन निर्माण सुरु गरेको हो । नयाँ भवनको शिलान्यास पूर्व प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लले बिहीबार एक विशेष कार्यक्रममा गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका रुपन्देही क्षेत्र नं. ४ का पूर्व प्रतिनिधि सभा सदस्य शुक्लले मध्यम वर्गीय परिवारका लागि आर्थिक पिल्लर खडा गर्न सहकारी प्रणाली ठूलो शक्ति भएको बताए ।
युवा अवस्थामै आत्मनिर्भर बन्न सक्ने व्यक्तिले वृद्धावस्थामा पनि सुखी जीवन बिताउने सम्भावना उच्च रहने उल्लेख गर्दै शुक्लले सहकारीमा आवद्ध सदस्यहरूले गरेको बचत भविष्यमा ठूलो उपलब्धि बन्ने धारणा राखे । नेपालका विभिन्न स्थानमा सहकारीसम्बन्धी विवाद देखा परे पनि धेरै सहकारीहरूले सकारात्मक विकासतर्फ अग्रसर भइरहेका उल्लेख गर्दै उनले देश विकासमा सहकारीको महत्वपूर्ण भूमिका रहेको जानकारी दिए ।
कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेशका शिक्षा, युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले सहकारीको महत्वबारे प्रकाश पार्दै मर्चवार क्षेत्रको विकासका लागि प्रदेश सरकारले राम्रो लगानी गर्दै आएको बताए । रुपन्देही क्षेत्र नं. ४ मा सर्वेन्द्रनाथ शुक्ल निर्वाचित भएका बेला विकासले गति लिएको स्मरण गर्दै उनले पछिल्लो समय केही कारणवश विकासको गति कमजोर भए पनि पुनः तीव्रता दिलाउन सकेको बताए ।
पूर्व सांसद शुक्लको पहलमा कोटहीमाई–७ मा क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारको लगानी सुरु हुने जानकारी दिँदै मन्त्री पाण्डेले हाल ७० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको बताए । यसैगरी, कोटहीमाई–५ मा अस्पताल निर्माण गर्ने प्रक्रिया पनि अघि बढाइएको जानकारी उनले दिए ।
१ करोड ४८ लाख ८० हजार रुपैयाँ लागतमा निर्माण हुन लागिएको २ तले प्रशासनिक भवनमा १६वटा कोठा र २वटा हल रहने संस्थाका ब्यवस्थापक विष्णु प्रसाद सहानीले बताए । उनले भने ‘अहिले सहकारीको कुल लागतको श्रोत निश्चित छैन । सहकारीले आफु सकेजतिको सुरुवात गर्दछ । आवश्यक अन्य रकम स्थानीय, प्रदेश र संघ सरकार सहित विभिन्न दाता निकायहरुसंग सहयोग मागेर निर्माण कार्य आगडी बढाइने छ । ’