जीर्ण सडक र सरकारी उदासीनता: मर्चवारमा भयावह दुर्घटनाको तथ्याङ्क

हृदयराम गुप्ता 121+ समाचार ( )
८ श्रावण २०८२, बुधवार

मर्चवार। रूपन्देहीको मर्चवार क्षेत्रमा आर्थिक वर्ष २०८१/०८२ मा सवारी दुर्घटनाको तथ्याङ्क उच्च छ। एक वर्षको अवधिमा यस क्षेत्रमा भएका कुल ८५ वटा सवारी दुर्घटनामापरि चार जनाले ज्यान गुमाएका छन् भने १ सय १३ जना घाइते भएका छन्।

तथ्याङ्कअनुसार, इलाका प्रहरी कार्यालय, मझगावाँको कार्यक्षेत्रमा ५७ वटा दुर्घटना भएका थिए। जसमा एक जनाको मृत्यु र ७५ जना घाइते भए। त्यसैगरी, इलाका प्रहरी कार्यालय, मर्चवारको कार्यक्षेत्रमा २८ वटा दुर्घटनामा तीन मृत्यु र ३८ जना घाइते भए । प्रहरीका अनुसार २०८१ साउन ४ गते ट्र्याक्टर, असोज १९ र फागुन ८ गते मोटरसाइकल तथा २०८२ असार १० गते बस दुर्घटना हुँदा मानवीय क्षति भएको थियो।


तीन गाउँपालिका र करिब डेढ लाख जनसंख्या भएको मर्चवारमा सवारी चापको तुलनामा सडक अत्यन्तै साँघुरो र जीर्ण छ। इ.प्र.का. मझगावाँका प्रमुख, प्रहरी निरीक्षक सन्तोष बस्यालले साँघुरा सडक, अत्यधिक सवारी चाप, तीव्र गति र ट्राफिक सचेतनाको कमीलाइ दुर्घटनाका मुख्य कारण बताए । उनले भने, 'दुर्घटना न्यूनीकरणका लागि सरकार, सवारी चालक र सडक अतिक्रमण गर्ने ब्यवसायी समेत जिम्मेवार हुनुपर्दछ।'

विशेषगरी बिहान १० बजेको समयमा मर्चवारका मुख्य बजारहरू गोनहा, मर्यादपुर, मझगावाँ, परसहवाँ, मन्झरिया, दुइमोहान खखडॏर र बेतकुइयाँमा कार्यालय र विद्यालय जाने सवारी साधनको अत्यधिक चापले ट्राफिक जाम हुनुका साथै दुर्घटनाको जोखिम बढाएको छ। यस क्षेत्रमा ५० सामुदायिक विद्यालय, ४१ निजी विद्यालय र ४० मदरसा सञ्चालनमा छन्, जसले गर्दा विद्यार्थी र कर्मचारीको आवतजावत बाक्लो हुन्छ।

विकासमा सधैँ पछि परेको यस क्षेत्रको दुर्दशाप्रति स्थानीय र जनप्रतिनिधि दुवै चिन्तित छन्। लुम्बिनी प्रदेश सांसद कन्हैया बनियाले मर्चवार विकासमा उपेक्षित भएको र यहाँ जिम्मेवार कर्मचारीसमेत बस्न नरुचाउने गरेकाले समस्या झनै अल्झेको स्वीकार गरे। उनले भने, 'जिम्मेवार कर्मचारी राती कोही बस्दैनन।'

"व्यवस्था र सरकार पटक–पटक फेरिए पनि मर्चवारको अवस्था उस्तै छ," सामुदायिक बिपत ब्यवस्थापन समिती राष्ट्रिय संजालका निबर्तमान अध्यक्ष जगन्नाथ प्रसाद कुर्मीले भने, "स्वास्थ्य, शिक्षा, बिजुली र सडकजस्ता आधारभूत सुविधा पनि हाम्रा लागि कल्पना जस्तै भएको छ। यो अवस्था अब फेरिनै पर्छ।"

उनले भने, 'मर्चवार क्षेत्रलाइ सदरमुकामसँग जोड्ने एकमात्र 'बेल्बास–खैरा' फोरलेन मुख्य सडकको निर्माणकार्य मर्यादपुरमै रोकिएको छ । साँगुरो सडक र बढ्दो दुर्घटनाले मर्चवारवासीका लागि सुरक्षित यात्रा एक सपना जस्तै बनेको छ, जसका लागि तत्काल सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ ।'

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार