मर्चवार । रुपन्देहीको मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाको मूल समितिको चयनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ । करिब ३ हजार ५ सय हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पु¥याउने लक्ष्य लिएको यो परियोजनाको मूल समितिको अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागी मतदान शुरू भएको हो ।
संस्थामा करिब १ हजार ७ सय १० सक्रिय उपभोक्ता र १ सय ३१ जना मतदाता रहेको संस्थाका ब्यवस्थापक विश्वनाथ आर्यले जानकारी दिएका छन । बिहानैदेखि मतदान स्थलमा लामो लाइन देखिनु उपभोक्ताको उत्साहपूर्ण सहभागिता र जागरूकताको संकेत हो । निर्वाचनमा दुई धारबीच प्रतिस्पर्धा देखिएको छ । एकातर्फ ‘स्थायित्व र निरन्तरता’को पक्षमा नजीर अहमद खाँ, जगन्नाथ प्रसाद कुर्मी र जनार्दन यादवको समूह छ भने अर्कोतर्फ ’सुधार र पारदर्शिता’को अभियान लिएका राजेन्द्र यादव, अब्दुल सलाम मुसलमान र प्रभु प्रसाद यादवको परिवर्तन पक्षधर समूह छ ।
निबर्तमान अध्यक्ष नजीर अहमद लगातार छैठो पटक अध्यक्ष हुन दाबेदारी गर्नु भएको छ । त्यसैगरी सचिवमा जगन्नाथ प्रसाद कुर्मी चौथो पटकका लागी प्रतिस्पर्धामा हुनुहुन्छ भने जनार्दन यादव लगातार दोश्रो कार्यकालमा कोषाध्यक्षको कमान सम्हाल्न निर्बाचनमा होमिनु भएको छ । अर्को धारबाट अध्यक्ष पदमा राजेन्द्र यादव, सचिवमा अब्दुल सलाम मुसलमान र कोषाध्यक्षका लागी प्रभु यादवको प्रतिस्पर्धा छ ।
शनिबार बिहान १० देखि २ बजेसम्म मतदानको समय रहेको बताउदै मत परिणाम आजै साँझसम्म सार्वजनिक हुने अपेक्षा गरिएको निर्वाचन समितिका संयोजक तथा जल स्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, रुपन्देहीका इन्जिनियर बिबेक शाहले बताए । मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाको नेतृत्व चयन प्रक्रिया केवल संस्थागत ढाँचामा सीमित छैन । यो मर्चवार क्षेत्रका हजारौं कृषकहरूको उत्पादन, जीवनस्तर, र भविष्यसँग गाँसिएको विषय हो। स्थायित्व वा परिवर्तन, जे मत परिणाम आउँछ, त्यसले आगामी चार वर्षको सिँचाइ व्यवस्थापनमा निर्णायक भूमिका खेल्नेछ ।