लोसार नेपालमा शेर्पा, लामा, भोटे, ह्योल्मो, तामाङ, गुरुङ र थकाली आदिले मनाउॅंदछन् । लोसार चाडको सम्बन्ध पुरानो साललाई विदा गर्ने र नया साललाई स्वागत गर्ने संग गाँसिएको छ । पश्चिमा मुलुकहरुले बाह्रौं महिनाको अन्तिम साँझ र नयाँसालको पहिलो दिनलाई स्वागत गरे जस्तै तामाङ समुदायले नयाँ साललाई ‘ल्होछार’ र अन्य समुदायले नया साललाई ‘लोसार अथवा ल्होसार’ भनेर सम्बोधन गरेको पाइन्छ । मगर थारु, दुरा लगायतका समुदायले माघ १ गतेलाई नयाँ वर्षको रुपमा मनाईन्छ। आखिर…ल्होसार, ल्होछार, लोसार जे भनेर सम्बोधन गरे पनि नयाँ वर्ष नयाँ साल भनिएको हो ।
नेपाल लगायत जापान, चीन, हङकङ, ताइवान, कोरिया, थाइल्याण्ड, भुटान र तिब्बतमा मनाइने लोसार (नयां साल) को गणना मञ्जुश्री र कालचक्र ज्योतिषशास्त्रमा आधारित छन् ।
प्रत्येक वर्षको लोसार (नयाँ साल) को गणना र नामाकरण १२ वटा जनावरहरुको नाम, ५ वटा धातु र २ लिङ्गबाट हुन्छ । १२ वटा जनावरको नामहरुः मुसा–चीवा, गोरु–लाङ, बाघ–तक, ह्ये–खरायो, मेघ–डुक, सर्प–डुल, घोडा–ता, भेंडा–लुक, बाँदर–टे, चरा–च्या, कुकुर–खी र ब“देल–फक हुन । ५ धातुहरुः माटो–स, आगो–मे (म्हे), काठ–सिं(सिङ), फलाम–च्या र पानी–छ्यु(क्यू) हुन् भने २ लिङ्गहरु पुरुष–फो र स्त्री–मो हुन् । १२ जनावरको नाम, ५ धातु र २ लिङ्गको सहायताले १२० वर्षसम्मको गणना गर्न सकिन्छ ।
नेपालमा हालसम्म तोलो लोसार, सोनाम लोसार ग्याल्बो लोसार गरी तीन प्रकारको लोसार मनाईने गरेको पाइन्छ । तोलो लोसार प्रत्येक वर्ष मञ्जुश्री ज्योतिष शास्त्रमा आधारित पात्रोको एघारौं महिना वा पुष महिनामा पर्दछ । प्राकृतिक रुपमा सूर्य उत्तर दिशा फर्कने, रुख विरुवाको नयां पालुवा फेरिने र यहाबाट नै रात छोटो र दिन लामो समेत हुने खालको परिवर्तन हुने भएकोले यसलाई नया सालको रुपमा मनाएको पाइन्छ । यो तोलो ल्होछार गुरूङ र पश्चिम नेपालका हुम्ला र जुम्ला क्षेत्रका केही समुदायले मनाइन्छ ।
सोनाम लोसार प्रत्येक वर्ष मञ्जुश्री पात्रोको बाह्रौं महिनाको पहिलो दिनबाट शुरु हुन्छ । कालचक्र ज्योतिष शास्त्रमा माघे संक्रान्तिबाट नया खेतीपातीको कार्य शुरु हुने भएकोले किसानहरुले यसलाई नया साल (लोसार) को रुपमा मनाएको विश्वास गरिन्छ । त्यसैले यस लोसारलाई किसान लोसार भन्ने पनि गरिन्छ । नेपालमा सोनाम लोसार तामाङ र ह्योल्मो समुदायहरुले मनाइन्छ ।
ग्याल्पो लोसार यो लोसार कुन ज्योतिष शास्त्रमा आधारित छ भन्ने यकिन छैन । यद्यपि हिमाली आदिवासीको पात्रो (धतु) अनुसार नया सालको पहिलो दिनलाई लोसारको रुपमा मनाएको देखिन्छ । यो सोनाम लोसार मंगोल वादशाह चाङगिच खाले तिब्बतको राजा मिञागको शासन लिएको विजय उत्सवको रुपमा मनाएको विश्वास गरिन्छ । यो लोसार शेर्पा, लामा तथा भोटे समुदायहरुले मनाइन्छ ।
घर रङ्गाउने र खाप्से बनाउनेः
लोसार शुरु हुनुभन्दा केही महिना अगाडिदेखि नै लोसारको पूर्व तयारीको क्रममा घरहरुमा रङ्ग पोत्ने, लोसारको लागि आवश्यक लुगाहरु सिलाउने र लोसारको लागि किनमेल गर्ने गर्दछन् । लोसार शुरु हुनुभन्दा हप्ता–दश दिन अगाडि खाप्से (मैदाको पिठोबाट बनाइने विभिन्न आकार प्रकारको रोटीको परिकार) बनाईन्छ ।
लोफुतः
लोफुत (अन्न रोपेर उमार्ने) आफ्नो ठाउॅंको हावापानी अनुसार लोसारको पहिलो दिन सम्ममा उम्रिने गरी एउटा भाडामा माटो र बालुवा मिसाएर त्यसमा गहुको बीउ राखेर उमारिन्छ । यसरी उमारेको गहुलाई नया सालको नयां बालीको रुपमा पूजा गरिन्छ ।
मैला फाल्ने र गुथुकः
लोसार शुरु हुनुभन्दा २ दिन अगाडि अर्थात् ङिस्यु गु (औसीको अघिल्लो दिन) आफ्नो घरको भित्री भागहरु पूरै सफा गरिन्छ । यसरी घर सफा गर्दा निस्केको फोहोरलाई ग्रह–दशाको प्रतिक ठानेर सो फोहोरलाई दोबाटो बा चौबाटोहरुको चोकमा फालेर आ–आफ्नो परिवारको ग्रह दशालाई शान्त र बिसर्जन गरिन्छ । यही दिन साझ नौ प्रकारको अन्नहरु मिसाएको खाना गुथुक खाइन्छ । गुथुकमा ॲाटाको डल्लाभित्र सेतो कपडा, गहु, कागज, खुर्सानी, कोइला, घ्यू र नुन आदिका सानो टुक्रा राखेर पकाएको आ“टाको एक/एक डल्ला सबैको भागमा राखिन्छ र गुथुक खानुभन्दा अगाडि सो आ“टाको डल्लोभित्र कसको भागमा के परेर भनेर सबैले अगाडि खोलेर हेरिन्छ । सेतो कपडाको अर्थ कामना पूरा हुने, गहुको अर्थ सम्पत्ति बढ्ने, कागजको अर्थ विद्वान हुने, खुर्सानीको अर्थ खरो बोली बोल्ने, कोइलाको अर्थ कपट मन हुने, घ्यूको अर्थ चिप्लो बोली बोल्ने र नुनको अर्थ योजना सफल हुने भनेर अर्थ लगाइन्छ । बौद्ध, कपन, स्वयम्भूका साथै गाउघरको मुख्य गुम्बाहरुमा बिदाइ हुने सालको ग्रह–दशाले नया सालमा निरन्तरता नपाओस् भनेर ग्रह–दशा शान्त र बिसर्जन गर्न गुम्बाहरुमा बिहानदेखि नै ङिस्युगु पूजा गरिन्छ । यो पूजा सक्नसाथ अधिकांश गुम्बाहरुमा लोसारको बिदा शुरु हुन्छ र लामाहरु लोसार चाडको लागि सबै आ–आफ्ना घर जान्छन् ।
सजावटः
लोसार शुरु हुनुभन्दा १ दिन अगाडि अर्थात् औंशीको दिन सबैले आफ्नो घरलाई विभिन्न सामग्रीहरु प्रयोग गरेर सजाईन्छ । यसरी घरहरु सजाउदा विशेषता सम्बोटा लिपीमा टासी देलेक लेखिएका वाक्यांश र अष्टमंगलको चिन्हहरु सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनहरुमा लेखिन्छ । गाउंघरमा आगोको धुंवाले पुरै कालो भएको भित्ता, दलिन र खम्बाहरुमा सेतो पिठोले अष्टमंगल लेखिएपछि घर धेरै उज्यालो देखिन्छ । अष्टमंगल लेख्न नजान्नेहरुले अष्टमंगलको प्रतिक बुढी औंलाले पीठोको आठवटा थोप्ला बनाइन्छ । यहि दिन विशेष गरी पूजा कोठालाई पूर्ण रुपले सिंगारेर भगवानको प्रतिमूर्ति वा फोटो अगाडि नै स–साना सातवटा भांडामा क्रमशः मुख धुने जल (अघ्र्यम), गोडा धुने जल (पाद्यम), फूल (पुष्पे), धुप (धुपे), छयोमी (आलोक), केशरको जल (गन्धे) र भोजन प्रतिक तोरमा (नैवेद्य) सजाएर राखिन्छ । साथै भगवानको प्रतिमूर्ति वा फोटो राखिएको स्थान (छ्योखाङ) अगाडि पुङ्गी अम्जो (गधाको कानको आकारमा बनाएको विशेष प्रकारको मैदाको रोटी) लाई सात वा नौ चाङ लगाई त्यसमाथि दीर्घायूको प्रतीक कछुवाको आकार बनाएको रोटी, लोसारको बेला आफ्ना नातेदार, इष्ट–मित्रहरुलाई आर्शिवाद दिंदा खुवाउन विशेष प्रकारको काठको भा“डामा राखिएको छिमार (भुटेको पिठोमा घिउ र चिनी मिसाएको), काठको पोङभित्र राखेको छ्याङ फु (अमृत जलको प्रतीक पेय पदार्थ), ग्रह–दशाको प्रतिरक्षा गर्न राखिएको ‘डला’ (तरवार वा काट्ने हतियार), पञ्चबुद्ध, पञ्चतत्व र पा“च प्राकृतिक शक्तिको प्रतीक बोसको डण्डामा बेरिएर राखेको पञ्चरड्डिन कपडा र विभिन्न प्रकारको रोटी, मिठाइ तथा बिस्कुटहरु सजाएर राखिन्छ । लोसारका पाहुनालाई बसाल्ने ठाउ“ र खुवाउने खानाहरु सबै तयार पारेर राखिन्छ ।
ल्होसार,ल्होछार,लोसार, जे भनिए पनि नयाँ वर्ष भनेका हुन !
मगरात खबर
१८ माघ २०७८, मङ्गलबार