५० करोडको पुँजी निर्माण गर्दै नवदुर्गाको २६औँ साधारण सभा सम्पन्न

मर्चवार न्यूज 367+ समाचार ( )
२९ पौष २०८२, मङ्गलबार

मर्चवार । श्री नवदुर्गा स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको बीउ प्रशोधन केन्द्रको प्रांगणमा सम्पन्न एक कार्यक्रमबीच उक्त सभा सम्पन्न भएको हो ।

सभामा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व शिक्षा मन्त्री वसीउद्दीन खाँले सहकारी सामान्य वर्गमा आर्थिक क्रान्ति ल्याउने महत्वपूर्ण माध्यम रहेको बताउनुभयो । साहु–महाजनको चर्को ब्याजबाट बच्नका लागि सहकारीको शुभारम्भ भएको बताउँदै उहाँले सबैलाई सहकारीमा आबद्ध हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “अन्य बैंकभन्दा सहज र चाहिएको समयमा ऋण उपलब्ध गराउने भएकाले सहकारीप्रति आम किसानसँगै सामान्य व्यवसायीहरू पनि आकर्षित रहेका छन् । आकस्मिक कोषमार्फत रातिको समयमा समेत सेवा उपलब्ध हुने भएकाले सहकारीभन्दा सहज व्यक्तिगत लेनदेन अरू छैन।”

पछिल्लो समयमा केही सहकारीका सञ्चालकहरूले ऋणीलाई चर्को ब्याजका कारण पीडित बनाएको उल्लेख गर्दै उहाँले त्यसले समग्र सहकारी प्रणालीमाथि शंका र प्रश्न खडा गरेको बताउनुभयो । यसप्रति सबै सरोकारवाला संवेदनशील हुन जरुरी रहेको उहाँको भनाइ थियो ।

सहकारी संस्थाको व्यवस्थापन तथा प्रवद्र्धनमा प्रदेश सरकार सदैव सकारात्मक रहेको बताउँदै प्रमुख अतिथि खाँले उक्त स्वावलम्बन संस्थाका लागि बाउन्ड्रीवाल निर्माण गर्न १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । प्रदेश सरकारबाट विनियोजन भई आएको उक्त बजेटलाई समयमै कार्यान्वयन गर्न कोटहीमाई गाउँपालिकालाई आग्रह गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादवले सहकारीले महिलाहरूको सक्रियता र बचत गर्ने बानीमा ठूलो क्रान्ति ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारीको माध्यमबाट बचत बढ्दा महिलाहरूको अनावश्यक खर्चमा कमी आएको छ । महिलाहरूले गरेको बचतका कारण छोरीहरूको शिक्षा वृद्धि हुनुका साथै महिला हिंसा समेत न्यून भएको छ।”

कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सभाको अध्यक्षता समेत गर्नुभएका संस्थाका अध्यक्ष दुर्गा प्रसाद कुर्मीले संस्थाले आर्थिक वर्ष २०८१÷०८२ सम्म ५० करोड ७१ लाख ५६ हजार २९७ रुपैयाँ बराबरको सम्पत्ति बनाउन सफल भएको जानकारी दिनुभयो ।

संस्थाले विभिन्न किसिमका बचत तथा ऋण लगानी, रेमिटेन्स सुविधा, मल तथा बीउ बिक्री वितरणलगायतका सेवा प्रदान गरी गत आर्थिक वर्षमा ३० लाख ८९ हजार ३०५ रुपैयाँ शुद्ध बचत गर्न सफल भएको अध्यक्ष कुर्मीले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र स्वावलम्बनको लागत साझेदारीमा सञ्चालनमा रहेको बीउ प्रशोधन केन्द्र, कम्बाइनलगायतका विभिन्न कृषि उपकरणबाट संस्थाका शेयर सदस्यहरूसँगै अन्य किसानहरूलाई समेत चलनचल्तीभन्दा कम दररेटमा सेवा उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।

संस्थाको प्रगतिमा नियमित र समयमा कारोबारको ठूलो महत्व रहेको उल्लेख गर्दै उहाँले संस्थाबाट ऋण लिएका ऋणीहरूबाट करिब १० करोड रुपैयाँ ब्याज तथा हर्जाना उठ्न बाँकी रहेको बताउनुभयो । समयमा ब्याज र हर्जाना नआएकै कारण गत वर्षको तुलनामा यस वर्ष कम नाफा देखिएको स्पष्ट पार्दै उहाँले सबै ऋणीलाई समयमै ब्याज बुझाउन आग्रह गर्नुभयो ।

संस्थाको आय–व्यय प्रस्तुत गर्दै व्यवस्थापक जितेन्द्र यादवले २ हजार ९ सय ४५ पुरुष र २ हजार ५ सय २९ महिला गरी कुल ५ हजार ४ सय ७४ जना शेयर सदस्य रहेको जानकारी दिनुभयो । उक्त सहकारीमा २ करोड ५६ लाख ७२ हजार ९ सय रुपैयाँ शेयर पुँजी रहेको उहाँले बताउनुभयो ।

कोटहीमाई, मर्चवारीमाई, सम्मरीमाई र लुम्बिनी सांस्कृतिक नगरपालिका सहित ९ स्थानीय तहलाई कार्यक्षेत्र बनाई विभिन्न ४ क्षेत्रमा ३० करोड ८८ लाख ४८ हजार ५८० रुपैयाँ ऋण लगानी गरिएको व्यवस्थापक यादवले जानकारी दिनुभयो ।

सभामा सहकारी संघ रुपन्देहीका सल्लाहकार अशोक कुमार त्रिपाठी, मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष राजेन्द्र यादव, प्रकोप व्यवस्थापन सञ्जालका अध्यक्ष जगन्नाथ प्रसाद कुर्मी लगायतले आ–आफ्ना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार