मर्चवार । साना किसान कृषि सहकारी संस्था लिमिटेड, मर्चवारीमाई–५ सिलौटिया शाखाले आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्था पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा आर्थिक वर्ष २०८१÷०८२ को आय–व्यय विवरण तथा वर्षभरि सम्पन्न गरिएका कार्यक्रमहरू प्रस्तुत गर्दै आइतबार उक्त सभा सम्पन्न गरिएको हो ।
सभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी अध्यक्ष मगन कलवारले संस्थामा हाल ६ सय २८ जना शेयर सदस्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले १५ लाख १३ हजार ३ सय रुपैयाँ बराबरको शेयर पुँजी निर्माण गरेको छ । संस्थामा ८७ वटा महिला समूह र २ वटा पुरुष समूह रहेका छन् भने ६ सय १७ जना महिला र १४ जना पुरुष शेयर सदस्य आबद्ध छन् ।
प्रस्तुत प्रतिवेदनअनुसार संस्थाको निक्षेपतर्फ १ करोड ७० लाख २५ हजार ८०९ रुपैयाँ, ऋण लगानीतर्फ १ करोड ६९ लाख ६४ हजार १ सय ४० रुपैयाँ, पाउनुपर्ने हिसाब १२ लाख २९ हजार ९०१ रुपैयाँ, जगेडा कोषमा ३५ हजार १ सय १४ रुपैयाँ तथा बाह्य ऋणमा १४ लाख ७० हजार रुपैयाँ कारोबार रहेको छ । यसैगरी संस्थाले ३१ लाख ३९ हजार ४ सय ७८ रुपैयाँ आम्दानी गरी २८ लाख ५९ हजार ५ सय ९४ रुपैयाँ खर्च गरेको अध्यक्ष कलवारले जानकारी दिनुभयो ।
सभामा प्रमुख अतिथिका रूपमा बोल्दै साना किसान कृषि सहकारी संस्था लिमिटेड शाखा कार्यालय गोनहाका अध्यक्ष ओमप्रकाश यादव (गुल्जारी)ले मर्चवार क्षेत्रको सबैभन्दा मुख्य शत्रु ‘गरीबी’ नै रहेको बताउनुभयो । मर्चवारवासीको जीवनस्तर उकास्न र बचत गर्ने बानीको विकास गर्न साना किसान कृषि सहकारी संस्थाको स्थापना गरिएको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “साना किसानहरूको आम्दानी थोरै हुने भएकाले थोरै–थोरै बचत गरी भविष्यमा धेरै लाभ दिने उद्देश्यले साना किसान कृषि सहकारी संस्थाको स्थापना भएको हो । ठूला व्यवसायी तथा कारोबारीहरू बैंक जाने गर्छन्, तर सामान्य वर्गका मानिसहरूको अर्थतन्त्र माथि उठाउन साना किसान कृषि सहकारी संस्था नै उपयुक्त छ ।”
साहु–महाजन तथा जमिनदारहरूको चर्को ब्याजको शोषणबाट बच्न इंग्ल्यान्डमा सन् १८४४ मा १८ जना शेयर सदस्यको लगानीबाट सहकारीको सुरुवात भएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष यादवले सहकारी संस्थामा हरेक शेयर सदस्य स्वयं मालिक हुने बताउनुभयो ।
कार्यक्रममा मर्चवारीमाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष कृष्ण कुमार सिंह, समाजसेवी शंकर प्रसाद शर्मा, समाजसेवी सुनिल यादवलगायतले आ–आफ्ना मन्तव्य राख्नुभएको थियो ।