मर्चवार , २९ मांसिर । मर्चवार सन्देश पत्रिकाको कार्यकारी सम्पादक हृदयराम गुप्ता नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । शुक्रबार बुटवलमा भएको निर्वाचनमा उनी निर्वाचित भएका हुन् ।
नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट कार्यसमिति सदस्य (मधेशी)मा उम्मेदवारी दिएका गुप्ताले १३९ मत पाई विजयी भएका हुन् ।
सोही पदमा उम्मेदवारी दिएका गुप्ताको निकटतम झब्बर यादवले ६५ मत प्राप्त गरेका थिए ।
विगत ७ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील गुप्ता मर्चवार सन्देश राष्ट्रिय साप्ताहिक पत्रिका र मर्चवार न्युज डट कममा आबद्ध रहेका छन् । उनी मर्चवार प्रेस क्लब रुपन्देहीका अध्यक्ष, नेपाल प्रेस युनियनको कार्य समिति सदस्य समेत हुन् ।
पत्रकार महासंघको अध्यक्षमा दिनेश पाण्डे निर्वाचित भएका छन् । निर्वाचनमा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त प्यानलै विजयी भएको छ । त्यस्तै उपाध्यक्षमा विश्वास ढकाल, उपाध्यक्ष (महिला) मा अस्मिना पाण्डे (मीना), सचिवमा सि.पी. खनाल, सह–सचिवमा झबिन्द्र देवकोटा, सह–सचिव (समावेशी) मा सुमन श्रेष्ठ र कोषाध्यक्षमा नरेश के.सी. निर्वाचिथत भएका छन् । उपाध्यक्षमा ढकाल निर्विरोध निर्वाचित भएका थिए ।
सदस्य (खुल्ला) मा रविन्द्र प्रताप गुप्ता, कल्पना डुम्रे, ललित पाण्डेय, राम भण्डारी, भुवन जि.सी., दिनेश कुमार श्रेष्ठ, डि.बी. सुस्लिङ र सुमित्रा अधिकारी निर्वाचित भएका छन् । त्यस्तै सदस्य (जनजाति) मा नरेश चौधरी, सदस्य (दलित) मा कृष्ण रणपाल, सदस्य (महिला) मा अनिता चौधरी निर्वाचित भएका थिए । त्यस्तै सदस्य (अल्पसंख्यक) मा गोविन्द बहादुर घर्ती निर्विरोध निर्वाचित भएका थिए ।