२ कराेड ४८ लाख भन्द बढीले धनलक्ष्मीको सम्पत्तिमा वृद्धि

मर्चवार न्यूज 367+ समाचार ( )
२६ पौष २०८२, शनिबार

मर्चवार । श्री धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोटहीमाई–५, रुपन्देहीको १०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले शुक्रबार एक कार्यक्रमका बीच आर्थिक वर्ष २०८१÷०८२ को आय–व्यय विवरण प्रस्तुत गर्दै उक्त सभा सम्पन्न गरेको हो ।

संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष अमरनाथ यादवले संस्थाको सम्पत्तिमा २ करोड ४८ लाख ९० हजार ४ सय २९ रुपैयाँको वृद्धि भएको जानकारी दिनुभयो । उहाँले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१÷०८२ मा विभिन्न कारोबारमार्फत २० लाख ४५ हजार ९ सय १४ रुपैयाँ शुद्ध बचत गर्न सफल भएको बताउनुभयो । यसैगरी संस्थाको शेयर पुँजी २२ लाख ६० हजार ४ सय रुपैयाँबाट वृद्धि भई २४ लाख ११ हजार ५ सय रुपैयाँ पुगेको उहाँले जानकारी दिनुभयो । संस्थाले गत आर्थिक वर्षमा ५ करोड ९६ लाख २० हजार २ सय ३५ रुपैयाँ बराबरको ऋण लगानी गरेको अध्यक्ष यादवले बताउनुभयो । संस्थाले वि.सं. २०७४ सालदेखि विभिन्न चरणमा खरिद गरी ४७६.३६ वर्गमिटर जग्गा संस्थाको नाममा खरिद गरेको जानकारी पनि अध्यक्ष यादवले दिनुभयो । संस्थाले विभिन्न किसिमका बचत तथा ऋण लगानीसँगै विभिन्न प्रकारका रेमिट्यान्स सुविधा समेत प्रदान गर्दै आएको उहाँले जानकारी गराउनुभयो ।

संस्थाको आय–व्यय विवरण प्रस्तुत गर्दै व्यवस्थापक कलमनाथ गुप्ताले आर्थिक वर्ष २०८१÷०८२ मा संस्थाले कुल २१ करोड ३८ लाख १५ हजार ५ सय ४२ रुपैयाँ आम्दानी गरेको जानकारी दिनुभयो । संस्थामा ७ सय ५२ महिला र १ हजार १ सय ३५ पुरुष गरी कुल १ हजार ८ सय ८७ जना शेयर सदस्य रहेको उहाँले बताउनुभयो । यसैगरी संस्थाले १३ लाख ६४ हजार २ सय ८५ रुपैयाँ बराबरको ५ सय ३८ बोरा मल बिक्री तथा वितरण गरेको व्यवस्थापक गुप्ताले जानकारी दिनुभयो । संस्थाले विभिन्न ४ वटा क्षेत्रमा ३ सय २८ जनालाई ५ करोड ९६ लाख २० हजार २ सय ३५ रुपैयाँ ऋण लगानी गरेको उहाँले बताउनुभयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य वसीउद्दीन खाँले साहु–महाजनहरूको चर्को ब्याजको भारबाट छुटकारा पाउन सहकारीको अनिवार्य आवश्यकता महसुस गरी सहकारीको विस्तार भएको बताउनुभयो । सहकारीबाट ठूलो राहत मिलेको चर्चा भइरहेका बेला केही सहकारीका पदाधिकारी वा कर्मचारीहरूको बदमासीका कारण सहकारी क्षेत्र आलोचित बन्दै गएको भन्दै सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “मिटरब्याजीको रूपमा कुनै सहकारीले जनतालाई पीडित गरे जनताको पक्षमा उभिएर त्यस्ता सहकारीलाई समेत कारबाही गराउनेछु । सबै सहकारीका सञ्चालक समिति, पदाधिकारी तथा सदस्यहरूले यस्ता समस्याको पहिचान गरी समयमै निवारण गर्न जरुरी छ ।” आफूले सहकारी क्षेत्रमा समेत लगानी गरेको उल्लेख गर्दै उहाँले सहकारी जनताकै लागि काम गर्ने संस्था भएको बताउनुभयो । नवदुर्गा स्वावलम्बन सहकारीमा भौतिक संरचना निर्माणका लागि बजेट व्यवस्थापन गरिएको जानकारी पनि उहाँले दिनुभयो ।

कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले सहकारीले समाजको अर्थतन्त्र माथि उठाउन, बचत गर्ने संस्कृतिमा वृद्धि गर्न तथा किसानहरूका लागि ठूलो सहयोगीको भूमिका निर्वाह गरेको बताउनुभयो । किसानलाई आवश्यक मल सहकारीमार्फत सहज रूपमा वितरण गरी समाजसँग दोहोरो नजिकता बनाउन सफल भएको उहाँले उल्लेख गर्नुभयो । आउँदो आर्थिक वर्षमा कोटहीमाई गाउँपालिकाभित्रका हरेक सहकारी लाभान्वित हुने गरी कार्यक्रम लागू गर्ने योजना रहेको अध्यक्ष त्रिपाठीले जानकारी दिनुभयो ।

कार्यक्रममा कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादव, वडा नं. ७ का वडाध्यक्ष पवन कुमार यादव, मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष राजेन्द्र यादव, कोटहीमाई–७ का वडासदस्य इसराक अहमद खान, जिल्ला सहकारी संघ रुपन्देहीका सल्लाहकार अशोक कुमार त्रिपाठी लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार