मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा बृहत् स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा लुम्बिनी म्याक्स अस्पताल, ओमसतिया–४, रुपन्देहीको प्राविधिक सहयोगमा शनिबार उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
श्री कटया आधारभूत विद्यालयमा आयोजित उक्त शिविरबाट करिब ३ सय जना स्थानीय नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिएको कोटहीमाई गाउँपालिका सामाजिक विकास शाखा प्रमुख अजय सिंह क्षेत्रीले जानकारी दिनुभयो । शिविरमा हाडजोर्नी रोग, महिला तथा प्रसूति रोग, पाठेघरसम्बन्धी समस्या तथा जनरल फिजिसियनमार्फत विभिन्न रोगको परीक्षण, परामर्श र उपचार सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादवले नागरिकहरूलाई स्वास्थ्यप्रति सचेत भई स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभयो । मर्चवार क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध अस्पतालको अभाव रहेको उल्लेख गर्दै उहाँले गाउँपालिकाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी नियमित रूपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनुभयो ।
उपाध्यक्ष यादवले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका महिला तथा विपन्न समुदायलाई विशेष प्राथमिकतामा राखेर शिविर सञ्चालन गरिएको उल्लेख गर्नुभयो । चिसो मौसमका कारण बढ्ने स्वास्थ्य समस्याबाट जोगिन सबै परिवार तथा समाजका नागरिकहरू सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “महिलाहरू स्वस्थ भए मात्र परिवार र समाज स्वस्थ रहन्छ, त्यसैले महिलाहरूले स्वास्थ्यसम्बन्धी समस्या लुकाउनुभन्दा समयमै उपचार गराउनुपर्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा कोटहीमाई गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष विनोद यादव, श्री कटया आधारभूत विद्यालयका प्रधानाध्यापक राकेश यादव, चिकित्सक डा. रामप्रसाद बस्याल, डा. प्रविण जोशी लगायतले गाउँपालिकाले जनस्वास्थ्य सुधारका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।