भैरहवा, ७ मंसिर /रुपन्देहीको भैरहवामा सञ्चालित छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) मा बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । शनिबार र सार्वजनिक विदाबाहेकका दिनमा बिहान ९ देखि ११ बजेसम्म मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सवको आयोजक संस्था चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले बताए । ‘मेला सफल पार्नु हामी सबैको साझा दायित्व हो, महोत्सवको अवलोकन गरेर पनि दर्शकले सहयोग गर्न सक्नुहनेछ भन्ने उद्देश्यले २ घण्टा प्रवेश निःशुल्कको व्यवस्था गरिएको हो, ’श्रेष्ठले भने ।
संगठनका पूर्वअध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका सह–संयोजक नारायण प्रसाद भण्डारीले दर्शकलाई मेला प्रवेशमा अझ सहजता होस् भन्ने उद्देश्यले २ घण्टा प्रवेश निःशुल्कको व्यवस्था गरिएको बताए । उनले महोत्सवमा सहभागी भएर यसलाई सफल पार्न आग्रह गरे । साँस्कृतिक व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका भण्डारीले महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति रहेको जानकारी दिए ।
महोत्सवमा ९ बजेदेखि ११ बजेबाहेक अन्य समयमा रु. ८०, विद्यार्थीका लागि रु. ५०, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुका लागि परिचयपत्रको आधारमा निःशुल्क प्रवेश, विद्यार्थीहरुलाई समूहमा प्रवेश रु. ३० तोकिएको आयोजकले जनाएका छन् ।
‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने नाराका साथ सिद्धार्थनगर–८ स्थित अञ्चलपुरमा महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुने प्रचारप्रसार उपसमितिका संयोजक तथा संगठनका सचिव कृष्ण प्रसाद पाण्डेले बताए ।
खुल्ला नृत्य प्रतियोगिता हुने
महोत्सवमा खुल्ला नृत्य प्रतियोगिता हुने आयोजकले जनाएका छन् । उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक व्यक्ति वा समूहले मेला सचिवालयमा मंसिर १० गतेसम्म सम्पर्क गर्न सक्ने महोत्सवको स्थानीय कलाकार व्यवस्थापन उपसमिति संयोजक माया खनालले बताइन् ।
निःशुल्क आँखा परीक्षण
महोत्सवमा लुम्बिनी प्रा.लि. द्वारा निःशुल्क आँखा परीक्षणको व्यवस्था गरिएको छ । महोत्सवका प्राथमिक उपचार उपसमिति संयोजक प्रियाबन्धु न्यौपानेले जानकारी दिए । मेला सचिवालय नजिकै स्टल नम्बर २ मा निःशुल्क आँखा परीक्षणको व्यवस्था गरिएको उनले बताए । न्यौपानेका अनुसार मेला प्रवेशको टिकटवापत सिद्धार्थनगर सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गर्दा ७१ प्रतिशतसम्म छुट सुविधा उपलब्ध रहेको छ ।