कोटहीमाई मन्दिरमा विष्णु महायज्ञ सुरु

मर्चवार न्यूज 367+ समाचार ( )
२ चैत्र २०८२, सोमबार

मर्चवार सन्देश

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिका–४ स्थित प्रसिद्ध धार्मिक स्थल कोटहीमाई मन्दिरमा विष्णु महायज्ञ सुरु भएको छ । उक्त ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मन्दिरको नामबाट नै गाउँपालिकाको नामाकरण गरिएको हो । यहाँ विगत करिब १० वर्षदेखि निरन्तर रूपमा विष्णु महायज्ञ आयोजना हुँदै आएको छ । यस वर्षको महायज्ञ आइतबारदेखि औपचारिक रूपमा सुरु गरिएको हो ।

आइतबार दिउँसो मन्दिर परिसरबाट कोटहीमाई गाउँपालिका–५ स्थित दानव र तिनाउ नदीको संगमस्थल दुईमोहानसम्म रथसहित भव्य कलश यात्रा निकालेर जल भराइ गरिएको थियो । सोही धार्मिक विधिअनुसार जल ल्याई यज्ञको शुभारम्भ गरिएको आयोजकले जनाएको छ ।

सामाजिक सद्भाव कायम राख्नुका साथै धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्ने उद्देश्यले प्रत्येक वर्ष स्थानीय जनस्तरको पहलमा यो महायज्ञ आयोजना हुँदै आएको कोटहीमाई गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष बेचुराम पालले जानकारी दिए ।

उनका अनुसार महायज्ञ अवधिभर दैनिक रूपमा दिउँसो तथा राति धार्मिक प्रवचन र भारतको वृन्दावनबाट आएका कलाकारद्वारा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।

वडाध्यक्ष पालले कोटहीमाई मन्दिर आसपासका बैरघाट, जिगिनिहवा, तुनिहवा, बरहदवा, कदमहवा, हर्दी लगायतका टोलबासी तथा सनातन धर्मप्रति आस्था राख्ने विभिन्न क्षेत्रका श्रद्धालुहरूको सहयोग र सहभागिताले महायज्ञ सम्पन्न भइरहेको बताए ।

चैत ९ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञका दैनिक धार्मिक कार्यक्रम तथा प्रवचनमा सहभागी भई पुण्य लाभ लिन सम्पूर्ण श्रद्धालु तथा सर्वसाधारणलाई आयोजकले निमन्त्रणा समेत गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार