रामनयनले दिए पदबाट राजीनामा

मर्चवार न्यूज 369+ समाचार ( )
५ वैशाख २०८३, शनिबार

मर्चवार । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नं. ४ निवासी तथा नेपाली कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रीय प्रतिनिधि रामनयन बरुणले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन्।

बरुणले पार्टीको क्षेत्रीय प्रतिनिधि पद र क्रियाशील सदस्यता दुवैबाट राजीनामा दिएका हुन्। उनले २०८३ साल वैशाख ४ गते सार्वजनिक सूचना जारी गर्दै आफ्नो निर्णय सार्वजनिक गरेका छन्।

आफ्नो राजीनामा पत्रमा बरुणले नेपाली कांग्रेसप्रति गहिरो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै लामो समयसम्म लोकतन्त्रको पक्षमा काम गर्न पाएकोमा गर्व व्यक्त गरेका छन्। उनले बीपी कोइरालाको आदर्श र लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात गर्दै आफूले पाएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको बताएका छन्।


तर पछिल्लो समय व्यक्तिगत कारण, परिस्थितिजन्य दबाब तथा केही अप्रिय अनुभवका कारण सक्रिय राजनीतिलाई निरन्तरता दिन नसक्ने अवस्थामा पुगेको उनले जनाएका छन्। “जीवनको यस्तो मोडमा आइपुगेको छु, जहाँबाट यात्रालाई अगाडि बढाउन असमर्थ महसुस गरिरहेको छु,” उनले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन्।

बरुणले पार्टी, सहकर्मी तथा अग्रजहरूसँगको सम्बन्ध अन्त्य गर्नुपर्दा आफूलाई गहिरो पीडा भएको उल्लेख गर्दै यो निर्णय सहज नभए पनि बाध्यतावश लिनुपरेको स्पष्ट पारेका छन्। उनले आजकै मितिदेखि लागू हुने गरी स्वेच्छाले राजीनामा दिएको जानकारी दिएका छन्।

राजीनामाको अन्त्यमा उनले आफूलाई साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। पदमा नरहे पनि देश र लोकतन्त्रप्रतिको आफ्नो आस्था अडिग रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

स्थानीय राजनीतिक वृत्तमा बरुणको यस निर्णयलाई चासोका साथ हेरिएको छ। लामो समयदेखि पार्टीमा सक्रिय रहेका उनको बहिर्गमनले क्षेत्रीय राजनीतिक गतिविधिमा केही प्रभाव पार्न सक्ने आकलन गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार