कोटहीमाईमा कृषि क्षेत्रलाई प्राथमिकता

सीताराम चौधरी 3+ समाचार ( )
९ श्रावण २०८२, बिहीबार

मर्चवार, ७ साउन । रुपन्देहीको कोटहीमाई गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याएको छ । कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न तथा कृषि उपजमा वृद्धि गर्न सिंचाई प्रवद्र्धन, कृषि सडक निर्माण, कृषि यान्त्रीकरण तथा कृषि आधुनिकीकरण गरी कृषकलाई अनुदान व्यवस्थापन गरी प्रोत्साहन गरिने कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए । 

पालिकाको प्रत्येक वडामा निःशुल्क सिचाईंको लागि भइरहेको विद्युतीकरणलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । कदमहवा, बैरघाट, मझगावाँ हुँदै परसहवा र कुडसर, देवनबक्सापुर, बेनीनगर हुँदै दुईमोहानसम्म निर्माण गरिएको कृषि सडकलाई थप स्तरीय बनाउने गाउँपालिका अध्यक्षले जानकारी दिए । 

कृषि क्षेत्रलाई कोटहीमाई गाउँपालिकाको आर्थिक समृद्धिको मेरुदण्ड मान्दै ‘व्यवसायिक कृषि पेशा अवलम्बन गरौं, आत्मनिर्भर बनौ’ नाराका साथ कृषि क्षेत्रलाई यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्ने कार्यक्रम गर्ने अध्यक्ष त्रिपाठीले जानकारी दिए । रासायनिक मललाई निरुत्साहित गर्न हरियो मल प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने उनले बताए । दूध तथा मासुजन्य उत्पादनका लागि गाई, भैसी तथा बाख्राहरुमा निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम गरी नश्ल सुधार तथा बालीनाली संरक्षणको लागि माटो परीक्षण कार्यक्रम प्रभावकारी बनाइने अध्यक्ष त्रिपाठीको भनाइ छ । 

विभिन्न तरकारी, बाली, फलफूलसहित विभिन्न विरुवाहरुको बीउ वितरण गर्ने कार्यक्रम सञ्चालन गरी कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसै गरी पर्यटन प्रवद्र्धन, भूमि व्यवस्था, श्रम, रोजगार लगायतका कार्यक्रम समेत सञ्चालन गर्ने नीति बनाइएको गाउँपालिकाले जनाएको छ । 

शिक्षा क्षेत्रलाई व्यवस्थित बनाई शिक्षक र विद्यालर्थीहरुको अनुपात मिलाई आवश्यकता अनुसार शिक्षक भर्ना गर्ने नीति निर्माण गरिएको गाउँपालिका अध्यक्ष त्रिपाठीले बताए । पूर्व प्राथमिक तथा प्राथमिक तहमा शिक्षण सिकाईमा अंग्रेजी भाषालाई प्रोत्साहन गर्ने र मन्टेश्वरी तथा किण्डर गार्डेन विधिलाई अवलम्बन गरिने नीति ल्याइएको गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश छ र 

गाउँपालिकाको स्थानीय कला, संस्कृति झल्काउने ‘हाम्रो कोटहीमाई’ पुस्तक पाठ्यपुस्तक निर्माण गरिने अध्यक्ष त्रिपाठीले जानकारी दिए ।

‘स्वास्थ्य क्षेत्रका समस्याहरुको अध्ययन गरी स्वास्थ्य कार्यक्रमहरुलाई प्रभावकारी बनाइनेछ र नेपाल सरकारले तोकेको औषधीहरु स्वास्थ्य चौकीमा प्रयाप्त व्यवस्थापन गर्न औषधी गरिनेछ । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन खोप केन्द्रहरुको निर्माण गरिनेछ, ’उनले भने । 

गाउँपालिकाबासीहरुलाई उपचारको क्रममा आश्यक परेको रगत निःशुल्क उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीसँग सम्झौतालाई निरन्तरता दिइने उनले जानकारी दिए । दीर्घकालीन रोग तथा प्राण घातक रोगलाई न्यूनीकरण र नियन्त्रण गर्न विभिन्न कार्यक्रम गर्ने अध्यक्ष त्रिपाठीले बताए । 

महिला, युवा तथा युवतीहरुलाई स्वरोजगारी बनाउन विभिन्न सीपमूलक तालिमसहित प्रविधि हस्तान्तरण कार्यक्रमलाई प्रभावकारी बनाइने अध्यक्ष उनले बताए । 

गाउँपलिकाभित्रको यातायात व्यवस्थालाई सहज बनाउन सडकको चौडाई न्यूनतम ६ मिटर कायम गर्ने उनले जानकारी दिए ।

त्यसै गरी सूचना प्रविधि, जलश्रोत विद्युत, वन तथा वातावरण, फोहोरमैला व्यवस्थापन, विपद् व्यवस्थापन तथा जलवायु उत्थानशीलता, सुशासन तथा संस्थागत विकास, योजना र विकास व्यवस्थापन, नीति कानून र न्याय सम्बन्धी नीति निर्माण गरिएको र सो नीतिहरुलाई प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

आर्थिक वर्ष २०८२÷०८३ का लागि ४७ करोड ८९ लाख ६५ हजार बराबरको बजेट ल्याइएको कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादवले बताइन् ।

समानीकरण अनुदान (नेपाल सरकारबाट) ११ करोड ९२ लाख, प्रदेश सरकारबाट ८३ लाख १० हजार, राजस्व बाँडफाँड (नेपाल सरकारबाट) १० करोड १९ लाख ४७ हजार, प्रदेश सरकारबाट १ करोड ५० लाख ८ हजार, नदीजन्य पदार्थबाट ४० लाख, स्थानीय स्रोतबाट ७५ लाख, गत आ.व.को मौज्दात २ करोड ३५ लाख, सशर्त अनुदान (चालुतर्फ) १७ करोड ३२ लाख, सशर्त अनुदान (पूँजीगत तर्फ) १ करोड ५५ लाख, समपुरक अनुदान (चालूगत तर्फ) ७८ लाख, समपुरक अनुदान (पूँजीगत तर्फ ७५ लाख) रहेको उपाध्यक्ष जानकारी दिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै