श्री भवानी स्वावलम्बनको २६औँ वार्षिक साधारण सभा सम्पन्न

मर्चवार न्यूज 367+ समाचार ( )
२५ पौष २०८२, शुक्रबार

मर्चवार । श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले शनिबार सम्मरीमाई गाउँपालिका–५ पाण्डेडिहस्थित संस्थाको प्राङ्गणमा आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरण प्रस्तुत गर्दै उक्त सभा सम्पन्न गरेको हो ।

सभामा संस्थाको आय–व्यय विवरण प्रस्तुत गर्दै व्यवस्थापक अशोक कुमार तिवारीले आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले ६६ हजार ८ सय ५० रुपैयाँ शुद्ध नाफा गरेको जानकारी दिनुभयो । गत आर्थिक वर्षमा संस्थाले २ करोड २८ लाख ६० हजार रुपैयाँ ऋण लगानी गरेको र उक्त ऋण लगानीबाट ३ करोड २७ लाख ९३ हजार ५८६ रुपैयाँ असुल गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी संस्थाको शेयरपुँजी १ लाख ८९ हजार ७ सय ४१ रुपैयाँले वृद्धि भई १ करोड ७२ लाख ४३ हजार ९८८ रुपैयाँ पुगेको जानकारी पनि व्यवस्थापक तिवारीले दिनुभयो । उहाँका अनुसार संस्थाले लगानी गरेको ऋण रकममध्ये ३ करोड ९२ लाख ५० हजार ४९६ रुपैयाँ फिर्ता लिन बाँकी रहेको छ । आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले ७ करोड ९२ लाख ८५ हजार २३५ रुपैयाँ बराबरको सम्पत्ति निर्माण गरेको छ ।


यसैगरी संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा ५ लाख ९० हजार ५०५ रुपैयाँ जोखिम कर्जा व्यवस्था कोष निर्माण गरेको संस्थाका अध्यक्ष जयराम गडेरियाले जानकारी दिनुभयो । सभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गडेरियाले संस्थाले वार्षिक बचत ५ करोड ४९ लाख ५६ हजार १३१ रुपैयाँ गरेको बताउनुभयो ।

आउँदो आर्थिक वर्षमा संस्थामा आबद्ध १ हजार ४१ जना शेयर सदस्यको संख्या वृद्धि गरी १ हजार १ सय पुर्‍याइने लक्ष्य रहेको अध्यक्ष गडेरियाले जानकारी दिनुभयो । साथै शेयरपुँजीलाई समेत वृद्धि गरी ६० लाख रुपैयाँ पुर्‍याउने लक्ष्य लिइएको उहाँले बताउनुभयो । आउँदो आर्थिक वर्षमा संस्थाको शुद्ध बचत २ लाख २१ हजार ५१६ रुपैयाँ पुर्‍याउने लक्ष्य निर्धारण गरिएको पनि अध्यक्ष गडेरियाले जानकारी दिनुभयो ।

सभामा विभिन्न स्वावलम्बन सहकारीका अध्यक्ष, व्यवस्थापक तथा शेयर सदस्यहरूले आ–आफ्ना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन राम अनुज प्रताप नारायण त्रिपाठीले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार