मर्चवार न्युज
मर्चवार ६ पुस । लुम्बिनी प्रेस क्लब रुपन्देहीले ९ औँ स्थापना दिवसको अवसरमा ‘बौद्ध संचार यात्रा’ कार्यक्रम सम्पन्न गरेको छ । शान्ति र अहिंसाका प्रतीक बुद्ध जन्मिएको स्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश दिने र शान्तिमार्गीलाई लुम्बिनी आउन र पदयात्रा गर्न प्रेरित गर्ने उद्देश्यले भैरहवादेखि लुम्बिनीसम्म बौद्ध संचार यात्रा गरिएको छ ।
२२ किलोमिटर लामो मौन पदयात्रा पछि मायादेवी मन्दिर परिसर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्याहरक्याल लामाले बौद्ध संचार यात्राले फेरि एपटक विश्वमाझ शान्ति र अहिंसाको सन्देश प्रवाह गरेको जनाए । ‘संचार क्षेत्र यस्तो शक्ति हो, जसले छिनभरमै विश्वमाझ सन्देश दिनसक्छ, हो आज त्यही सन्देश संसारभर फैलिएको छ । शान्तिमार्गीलाई लुम्बिनी आउन, पदयात्रा गर्न प्रेरणा मिलेको छ’, उनले भने । उनले पदयात्रा बुद्ध जीवनीसँग मेल खाने भएकाले लुम्बिनी आएर पदयात्रा गर्न विश्व समुदायलाई आह्वान गरे । उनले भगवान बुद्ध लुम्बिनीमा जन्मिनु नै नेपाली र विश्वभरका बौद्धमार्गी र शान्तिप्रेमीहरुलाई खुशीको कुरा भएको जनाए । ‘भगावन बुद्धले हिँडेरै विश्वभर बुद्ध सन्देश फैलाएका थिए । बौद्ध धर्ममा पदयात्राको खास महत्व छ । बुद्ध जीवनीसँग जोडिएकाले पद यात्रा शान्तीको सन्देश हो’ उनले भने ।
‘अब अर्का बुद्ध जन्मिने सम्भावना छैन, लुम्बिनी अरु कसैले बनाउन पनि सक्दैन, त्यसैले शान्ति खोज्नेहरुका लागि यो एउटा उद्गम थलो हो’, उनले भने, ‘आजका जस्ता कार्यक्रमले लुम्बिनीमा सबै धर्ममा आस्था राख्नेलाई गोलबद्ध गर्नसक्छ, लुम्बिनी ल्याउन सक्छ ।’ उपाध्यक्ष डा.लामाले अब यस्ता पदयात्रा तिलौराकोट, देवदह, रामग्राम लगायतका बौद्धस्थलहरुमा पनि हुनुपर्ने जनाए । यसका लागि विकास कोषले आवश्यक सहयोग र सहकार्य गर्ने जनाए । उनले लुम्बिनी विश्वभर रहेका अर्ब बढी बौद्धमार्गीको आस्थाको केन्द्र र संसारभरका सबै मानिसको साझा थलो रहेको बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बुद्धले बुद्धत्व प्राप्त गर्न जाँदा र शान्तिको सन्देश दिँदा हिँडेरै दिएको भन्दै लुम्बिनीमा पदयात्रा र आध्यात्मिक कार्यक्रम धेरैभन्दा भेरै हुन जरुरी रहेको जनाए । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरी, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले जतिसुकै दुःखकष्ट गरेर आए पनि लुम्बिनी आउँदा शान्तिको अनुभूति हुने जनाए । उनीहरुले पदयात्रा र शान्तिको सन्देश दिन तथा पर्यटन प्रबद्र्धनका लागि प्रेस क्लबले खेलेको भूमिका सह्रानीय रहेको जनाए ।
शान्ति, अहिंसा र आध्यात्मिकताका लागि विश्वभर सन्देश पैदा गरेको क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले बताए । ‘यहाँमात्रै नभई विश्वभर मानिस स्वार्थी बनेको छ, हत्याहिंसा, आतंक र द्वन्द्वमा लागेको छ, त्यसैले शान्तिमार्गीहरु लुम्बिनी आउनुपर्छ, यहाँबाट विश्व शान्त छ भन्ने सन्देश दिनुपर्छ र शान्तिको बाटो अवलम्बन गर्नुपर्छ भन्ने नै हाम्रो उद्देश्य हो’, उनले भने ।
‘सधैं कापीकलम र क्यामेरा बोकेर खबर खोज्न हिँड्ने मात्रै होइन, पत्रकारले शान्तिको सन्देश फैलाउनुपर्छ, सिथिल पर्यटन क्षेत्रलाई माथि उठाउन प्रयास गर्नुपर्छ भन्ने पनि बौद्ध संचार यात्राको उद्देश्य हो’, कार्यबाहक अध्यक्ष रायमाझीले भने, ‘पदयात्राले स्थानीय, प्रदेश, राष्ट्रियस्तरमा मात्रै नभई विश्वमाझ उर्जा थपेको महसुस हाम्रो छ ।’
‘पर्यटनका लागि शान्ति, शान्तिका लागि आध्यात्मिक मौन यात्रा’ नारा दिएको बौद्ध संचार यात्रामा भिक्षुभिक्षुणी, लामा, पत्रकार, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायी, नेपाली सेना, प्रहरी, सशस्त्र र सर्वसाधारण सहभागी भए । ठाउँठाउँमा स्थानीय र पर्यटन व्यवसायीले स्वःस्फूर्त खादामाला र टिकाले स्वागत गरे ।
बिहान ७ः१० मा भैरहवाको लुम्बिनी गेटबाट रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, सशस्त्र प्रहरी २७ नम्बर गणका प्रमुख दीपककुमार थापा, राष्ट्रिय अनुसन्धानका रुपन्देही प्रमुख हुमाकान्त पाण्डे लगायतले रिवन काटेर बौद्ध संचार यात्राको सुरुवात गरेका थिए । पदयात्रा ११ः४० मा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा पुगेको थियो ।