भैरहवा । गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले संविधान संसोधन जस्तो कुरा दुई तिहाईले मात्र नभई सबै पार्टी र सरोकारवालाहरुसंगको व्यापक छलफलपछि सहमतीको वातावरण बनाएर मात्र संसोधन गरिने बताएका छन्। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले बिहिबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधानमा संसोधनमा सबैको सहमतिको आवश्यकता औल्याए।
कार्यक्रममा बोल्दै मन्त्री लेखले संविधान बनेको १० वर्ष भएको र यसको अभ्यासको क्रममा राम्रा पक्ष र जटिलता देखिएका पक्षहरुमा समिक्षा गर्न आवश्यक रहेको बताए । उनले आवधिक रुपमा संविधानको समिक्षा गर्नुपर्ने बताए ।“हामीले संविधानको अभ्यास भएको १० वर्षमा सकारात्मक पक्ष के रहे र कहाँ, कहाँ निर जटिलता र समस्या छ भनि पहिचान गर्नु पहिलो कुरा हो ।” उनले भने “समस्या पहिचान पछि एक वा दुई पार्टीले मात्र संसोधन गरेर हुदैन, संविधान निर्माण गर्न जति पार्टी हुनुहुन्थ्यो, अहिले संविधान सभामा जति पार्टी हुनुहुन्छ, ती पार्टीहरुका बिचमा व्यापक संवाद र छलफल गरि सहमतिको आधारमा संसोधन हुन्छ ।”
गृहमन्त्री लेखकले मुलुक फेरी निरंकुशता र तानाशाही तर्फ नजाने बताएका छन् । उनले नेपाल निरंकुश र तानाशाही व्यवस्था फालेर लोकतान्तिक व्यवस्थामा समाज अगाडी बढिसकेको बताए ।
“संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा समाज अगाडी बढि सकेपछि फेरी त्यो समाज निरंकुशता र तानाशाही तर्फ फर्केर जान्छ भन्ने कुरा समाज विकास विज्ञानले मान्दैन ।” लेखकले भने “हो हामीले गर्नुपर्ने काम जति गर्न सकेका छैनौं, हुनु पर्ने काम भएका छैनन । यसले मानिसहरुमा केही चिन्ता र पिडा अवश्य छ । त्यो चिन्ता र पिडालाई आक्रोशमा बदलेर व्यवस्थाकै विरुद्धमा प्रयोग गर्ने काम भईरहेको छ ।”
उनले नेपाली कांग्रेस अहिलेको व्यवस्थाको पक्षमा उभिन जरुरी रहेको बताउदै नेपाली कांग्रेसका नेतृत्व र मान्यतामा बनेको संविधानको रक्षा गर्न तत्पर रहनुपर्ने जिकिर गरे ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयमा गृहमन्त्री लेखकले यसमा आफूले थप टिप्पणी नगर्ने बताए । सरकारले निर्णय गरिसकेको र आफू यो सरकारको मन्त्री भएकोले यो निर्णय बोक्ने उनले बताए । “मन्त्रीपरिषदमा बस्दै गर्दा मन्त्रीका विभिन्न कुराहरु थिए होलान् भन्ने बुझ्नुस्’ उनले भने “त्यो कुरा अब सकिसक्यो ।”
कार्यक्रममा नेपाल शिक्षक महासंघ सिद्धार्थनगरका अध्यक्ष चर्तुभुज रेग्मी, कांग्रेस क्षेत्र नम्बर ३ का कोषाध्यक्ष कृष्ण खनाल, क्षेत्रीय प्रतिनिधि गुरचरण प्रजापति, क्षेत्रीय सह–सचिव कुल प्रसाद न्यौपाने, पर्यटन व्यवसायी संजय बजिमय, पूर्व महाधिवेशन प्रतिनिधि भरथरी यादव, युवा नेता टिका जि.सी., नारायण प्रसाद कोइराला, सिद्धार्थनगर–४ का सभापति नरेन्द्र प्रसाद रौनियार, जिल्ला सदस्य ओम कुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि विनय ज्ञवाली लगायतले बोल्दै कांग्रेसका क्रियाशिल सदस्यहरुमा उदासिनता देखि भैरहवामा पर्यटकको आगमनको समस्या, गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको नियमित सञ्चालन लगायतको विषयमा कुराहरु उठाएका थिए ।
कार्यक्रमा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति सुशिल गुरुङ्गको अध्यक्षता र सचिव लेखनाथ भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।