रुपन्देहीको मर्चवार क्षेत्रमा कडा सुरक्षा व्यवस्थाबीच लक्ष्मी मूर्ति विसर्जन

मर्चवार न्यूज 367+ समाचार ( )
८ कार्तिक २०८२, शुक्रबार

मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रमा यस वर्षको लक्ष्मी मूर्ति विसर्जन कार्यक्रम कडा सुरक्षा व्यवस्थाबीच सम्पन्न भएको छ । कोटहीमाई गाउँपालिका–५, दुईमोहानमा विगत दुई दिनमा कुल ३८ वटा लक्ष्मी मूर्तिहरू सुरक्षित रूपमा विसर्जन गरिएको प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रले जानकारी दिएका छन् ।

मूर्ति विसर्जनको क्रममा सम्भावित जोखिम तथा अनियमित घटनाहरू रोकथाम गर्न गाउँपालिकाले सुरक्षा संयन्त्रलाई सक्रिय बनाएको थियो । प्रमुख प्रशासकीय अधिकृत मिश्रका अनुसार, विसर्जन कार्यलाई धार्मिक परम्परा र वैज्ञानिक व्यवस्थापन सिद्धान्त  अनुरूप सञ्चालन गर्न विविध जनशक्ति र स्रोत साधन परिचालन गरिएको हो ।

उनले सुरक्षा व्यवस्थापनमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय सुरक्षा समिती, स्वयंसेवक तथा स्थानीय निकायका प्रतिनिधिहरूलाई धन्यवाद व्यक्त गर्दै, आगामी वर्षहरूमा पनि सुरक्षा र व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाइने  प्रतिबद्धता जनाए ।

वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता सञ्जय कुमार सैनीका अनुसार, विसर्जन व्यवस्थापन मङ्गलवार ४ गते  देखि सुरु भई बुधबार र बिहीबार (५ र ६ गते) सम्म निरन्तर सञ्चालन गरिएको थियो । विसर्जन कार्य इलाका प्रहरी कार्यालय मझगावाँ, सशस्त्र प्रहरी बल सुरक्षा बेस करौता लगायतका सुरक्षा निकायहरूको संयुक्त समन्वयमा सम्पन्न भएको उनले बताए ।

विसर्जन स्थलमा मूर्ति विसर्जन क्षेत्र, निषेधित क्षेत्र र पार्किङ क्षेत्र स्पष्ट रूपमा निर्धारण गरिएको थियो । साथै, ध्वनि प्रदूषण नियन्त्रणका लागि ‘हाई साउण्ड’ निषेध क्षेत्र घोषणा गरी वातावरणीय सन्तुलनमा ध्यान दिइएको थियो । सुरक्षाका दृष्टिले उद्धार सामाग्री, प्रहरी टिम र डुंगा व्यवस्थापन पनि गरिएको थियो ।

मूर्ति विसर्जनमा लुम्बिनी सांस्कृतिक नगरपालिका, सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, कोटहीमाई गाउँपालिका र मायादेवी गाउँपालिकाका भक्तजनहरूले सहभागिता जनाएका थिए । सबै मूर्तिहरूलाई निर्धारित सीमा र सुरक्षित क्षेत्रभित्र नियन्त्रित तरिकाले विसर्जन गरिएको गाउँपालिकाले जनाएको छ ।

अधिकृत मिश्रका अनुसार, यस वर्षको विसर्जन कार्यका तथ्यांक र अनुभवलाई आगामी वर्षका लागि व्यवस्थापन नीतिगत सुधार र वैज्ञानिक योजना निर्माणमा प्रयोग गरिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार