सिद्धार्थ सडक खाना महोत्सव बारे छलफल

महेश गुप्ता 92+ समाचार ( )
९ फाल्गुन २०८०, बुधवार

भैरहवा, ८ फागुन ÷ नयाँ वर्ष २०८१ को स्वागत गर्दै त्यसको पूर्व सन्ध्यामा रुपन्देहीको भैरहवामा आयोजना गर्न लागिएको ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८०’ का सन्दर्भमा छलफल गरिएको छ । महोत्सवको आयोजक संस्था होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीले आवश्यक सुझाव–सल्लाहका लागि छलफल कार्यक्रम गरेको हो ।

बैठकमा बोल्ने सहभागीहरुले सडक खाना महोत्सवलाई निरन्तरता दिने कार्य सराहनीय रहेको भन्दै महोत्सव कम्तीमा दुई दिन सञ्चालन गर्न सुझाव दिएका छन् । आर्थिक क्षेत्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने यस्ता महोत्सव दुई दिनसम्म सञ्चालन गर्न सकिए अझ प्रभावकारी हुन सक्ने उनीहरुको भनाइ छ ।  

बेलहिया–बुटवल ६ लेन सडकखण्ड अन्तर्गत देवकोटाचोकदेखि बसपार्क क्षेत्रसम्म यसअघि सडक खाना महोत्सव आयोजना हुँदै आएको र यसपटक सिद्धार्थ रंगशालासँगै जोडिएको सडकमा महोत्सव आयोजना गरे अझ प्रभावकारी हुने र ट्राफिक व्यवस्थापनमा पनि सहज हुने सहभागीहरुले सुझाव दिए ।

होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष तथा ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८०’ का संयोजक पिताम्बर न्यौपाने (विष्णु) ले महोत्सव सफल पार्न सबैको साथ, सहयोग तथा सल्लाह–सुझाव आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘कार्यक्रमको आयोजक होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन भए पनि सबैको सल्लाह–सुझाव लिएर अघि बढ्छौं । यो विषम परिस्थितिका बाबजुद पनि महोत्सवलाई सभ्य र भव्य रुपमा सफल पार्नुपर्छ ।’ उनले आगामी चैत ३० गते ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८०’ गर्न लागिएको जानकारी दिए ।

मदिरा व्यवसायी संघ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले महोत्सवलाई सफल बनाउन सम्पूर्ण संघ–संस्था एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । लुम्बिनी प्रेस क्लब रुपन्देहीका कार्यवाहक अध्यक्ष कमल रायमाझीले बजार चलायमान बनाउन र आर्थिक समृद्धिका लागि यस्ता महोत्सवले सहयोग गर्ने बताए । उनले महोत्सवविगत भन्दा अझ बढी व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

लुम्बिनी मनिचेञ्जर व्यवसायी संघका अध्यक्ष ऋषिराम पाण्डेयले महोत्सवको प्रचारप्रसारमा ध्यान दिन आग्रह गरे । उनले महोत्सवमा आएका भारतीय पर्यटकको सुविधालाई मध्यनजर गर्दै आवश्यक गृहकार्य गर्न आग्रह गरे । मदिरा व्यवसायी संघ भैरहवाका महासचिव यादव पोखरेलले महोत्सव सफलताको शुभकामना व्यक्त गरे ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका सल्लाहकार अर्जुन कुमारगिरीले सडक खाना महोत्सवले निश्चय नै आर्थिक क्षेत्र चलायमान बनाउने बताए । होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय उपमहासचिव राजेश महोत्राले कुनै संघ–संस्थासँग सहकार्य गर्न बाँकी रहे सहकार्य गर्न आग्रह गरे ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका सल्लाहकार विश्वराज बराल (अनुप)ले महोत्सव सफल बनाउन उत्साहका साथ लाग्न आग्रह गरे । संगठनका प्रेस सल्लाहकार दीपेश पछाईले सडक खाना महोत्सव ब्राण्ड बनेको र यसलाई सफल बनाउन सम्पूर्ण संघ–संस्था एकजुट भएर अघि बढ्दा राम्रो सन्देश जाने बताए ।

साईकल सिटी भैरहवाका अध्यक्ष सूर्य कुमार सारु मगरले महोत्सव जसले आयोजना गरे पनि सबैले आफूलाई आयोजक सोचेर सहयोग गर्नुपर्ने बताए । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सडक खाना महोत्सव दुई दिन सञ्चालन गर्न सकिने बताए । 

सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) लुम्बिनी प्रदेशका अध्यक्ष श्रीचन्द गुप्ताले सडक खाना महोत्सवलाई निरन्तरता दिइएकोमा धन्यवाद व्यक्त गर्दै दुई दिन सञ्चालन गर्न सुझाव दिए । लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले महोत्सवलाई सभ्य र भव्य रुपमा सफल बनाउनुपर्नेमा जोड दिए । उनले शान्ति सुरक्षा महत्वपूर्ण कुरा भएको बताए । उनले महोत्सवमा कसरी बढी भन्दा बढी पर्यटक भित्र्याउन सकिन्छ भन्नेतर्फ ध्यान दिन आग्रह गरे ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देही तथा सिद्धार्थ सञ्जाल रुपन्देहीका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले महोत्सव दुई÷तीन दिन सञ्चालन गर्न सकिने बताए । चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले महोत्सवमा कसरी उल्लेखनीय सहभागीता गराउन सकिन्छ भन्नेतर्फ ध्यान दिन आग्रह गरे । 

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका महासचिव बाल बहादुर घिमिरे (सुनिल) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार