मर्चवार । भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनको क्रममा क्षतिग्रस्त भएको विभिन्न कार्यालय तथा सेवा प्रवाह समेत बन्द गरेको कार्यालयहरुले आइतबारदेखि पुनः सेवा सुरु गरेका छन् । शनिबार रुपन्देहीका प्रमुख जिल्ला अधिकार डा. टोकराज पाण्डेले सूचना जारी गर्दै सबै कार्यालय सञ्चालन गर्न निर्देशन दिएका थिए ।
आइतबारदेखि रुपन्देहीको सबै स्थानीय तह, स्वास्थ्य कार्यालय, जिल्लास्तरीय विभिन्न सरकारी कार्यालय, आन्तरिक राजस्व कार्यालय र भैरहवा भन्सार कार्यालय लगायतका कार्यालयहरु खुलेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जानएको छ ।
आइतबारदेखि नै विभिन्न निजी विद्यालयहरु समेत सञ्चालनमा आएका छन् । करिब एक सातादेखि प्रभावित बनेको रुपन्देही जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ ।
भैरहवा भन्सार कार्यालय सिद्धार्थनगर, रुपन्देहीले शनिबारदेखि नै कार्यालय परिसरमा टेण्ट टांगेर सेवाग्राहीलाई सेवा प्रदान गर्न सुरु गरेको भन्सार अधिकृत तथा कार्यालयका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीले बताउनुभयो ।
भदौ २४ गते आएको समूहले तोडफोड तथा आगजनी गर्दा भन्सार कार्यालयको प्रमुख प्रशासकीय भवन (दुईतल्ले भवन) मा पूर्ण रुपमा क्षति पुगेको प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले जानकारी दिनुभयो ।
‘प्रमुख प्रशासकीय भवनमा रहेको फर्निचर, कम्प्यूटर, कागजात पनि जलेर नष्ट भएको छ, यात्रु शाखा पूर्ण रुपमा जलेको छ । कार्यालयमा रहेको बैंकको शाखामा पनि क्षति पुगेको छ, ’उहाँले भन्नुभयो । प्राथमिकता निर्धारण गरी वस्तुहरुको जाँचपास सुरु गरिएको न्यौपानेले बताउनुभयो । शुक्रबार २८२ वटा गाडी जाँचपास गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यसै गरी आन्तरिक राजस्व कार्यालय रुपन्देही भैरहवा पूर्ण रुपले क्षति भए पनि आइतबारबाट सरसफाई गरी कार्यालय सञ्चालन गरिएको छ । कार्यालयको सूचना कक्ष सञ्चालन गरी कार्यालय व्यवस्थापन भइरहेको छ ।
२३ गते सुरु भएको जेनजीको अन्दोलन पहिलो दिन सामान्य रहे पनि २४ गते उग्र बनेको थियो । २४ गते अन्दोलनमा भैरहवा भन्सार कार्यालय बेलहिया, सिद्धार्थनगर नगरपालिकाको कार्यालय, नगरप्रमुख इस्तियाक अहमद खाँ, उपप्रमुख उमा अधिकारी, पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला, प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयको निजी निवास, अन्तरिक राजस्व कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बुटवल उपमहानगरपालिका, गैडहवा गाउँपालिका, सैनामैना नगरपालिका, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, लगायत विभिन्न राजनीतिक दलका नेता तथा जनप्रतिनिधिको निजी निवास र व्यवसायिक प्रतिष्ठानमा तोडफोड र आगजनी भएको थियो ।