मर्चवार । सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हे.क्वा., रुपन्देहीले आर्थिक वर्ष २०८१÷२०८२ मा १३ करोड रुपैयाँ बढीको अवैध सामान बरामद गरेको छ । गणका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहन न्यौपानेले २०८१ साउनदेखि २०८२ असार मसान्तसम्म (एक वर्षमा) १३ करोड १० लाख ३९ हजार ९ सय ८९ मूल्य बराबरको सामान बरामद गरिएको जानकारी दिनुभयो ।
राजस्व छली गरी चोरी, निकासी÷पैठारी गरी भारतबाट नेपालमा ल्याइएका सामान बरामद गरी भन्सार, राजस्व अनुसन्धान, स्थानीय तह र पशु प्लान्ट क्वारेन्टाईन कार्यालयहरुमा बुझाएको उहाँले बताउनुभयो ।
डीएसपी न्यौपानेका अनुसार सशस्त्र प्रहरी रुपन्देहीले ३७ लाख ३३ हजार ५ सय मूल्य बराबरको ब्रोईलर कुखुरा, ५६ लाख ९९ हजार ५ सय ६९ रुपैयाँ बराबरको किराना सामान, ४ लाख ६५ हजार ६ सय ६७ बराबरको रासायनिक विषादी, २ लाख ९ हजार ९५ रुपैयाँ बराबरको हरियो तरकारी, ९५ लाख ५२ हजार ८९ रुपैयाँ बराबरको चिनी बरामद गरेको छ ।
त्यस्तै ७ लाख ८७ हजार ५ सय ५० बराबरको खाद्यान्न (दाल, चामल, चना), १४ लाख ९६ हजार २ सय ८५ बराबरको कस्मेटिक सामान, ९९ हजार ८ सय २ बराबरको भाडा वर्तन, ९ लाख बराबरको मोबाईल फोन, ५ लाख २१ हजार, ७ लाख ९६ हजार २ सय २३ बराबरको हार्डवेयर, मोटर, मोबाईल माटर्स, इलेक्ट्रिस ७५ लाख ७६ हजार ९ सय ८३, नगद (नेपाली तथा भारतीय रुपैयाँ) २० लाख ६० हजार, ४६ लाख ३ हजार ४ सय ८६ हजार मूल्य बराबरको आयूर्वेदिक तथा एलोपेथिक औषधी बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यसै गरी ३६ हजार मूल्य बराबरको मदिरा, २ लाख १६ हजार ६ सय ५० बराबरको पटका, १ लाख ५ हजार बराबरको पशु चौपाया, ६ लाख ४५ हजार बराबरको नदीजन्य पदार्थ (बालुवा, गिट्टी, ढुंगा) बरामद गरिएको डीएसपी न्यौपानेले जानकारी दिनुभयो । ‘राजस्व कार्यालयसँग संयुक्त तथा एकल रुपमा २ करोड १९ लाख ३० हजार ८ सय ४५ मूल्य बराबरको सामान बरामद गरिएको छ, उहाँले भन्नुभयो । त्यस्तै २ करोड ७३ लाख ७७ हजार १ सय ७४ रुपैयाँ बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
अवैध सामान ढुवानीमा प्रयोग भएका ट्रक, मिनी ट्रक, ट्याक्टर ८ वटा, कार, भ्यान, छोटा हात्ती) १० वटा, अटोरिक्सा ५ वटा, मोटरसाइकल १७५ र साईकल १० गरी २०८ वटा सवारीसाधनहरु समेत सशस्त्र प्रहरीले बरामद गरेको हो ।